गाउँको क्रिकेट मोह : उदीयमान पुस्ता भन्छन्–हेर्दाहेर्दै–खेल्दाखेल्दै लत बसेको थाहै भएन


५ बैशाख २०८१, बुधबार
cricket lover village

बझाङ । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को सरगर्मी सुदूर पहाडका दूरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि शहरतिर खेलिने फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन् ।

सुशील जोशी दुर्गा महालिङ माविमा सात कक्षामा अध्ययन गर्छन् । ११ वर्षीय सुशील गाउँमा दुई वर्षदेखि क्रिकेट खेलिरहेका छन् । उनी भारतीय क्रिकेट स्टार विराट कोहलीको खेलबाट प्रभावित भएको बताउँछन्। कोहलीको खेल कुन दिन, कुन समूहसँग हुन्छ भन्ने उनलाई प्रायः थाहा भइरहन्छ ।

फुर्सद भयो कि सुशीलसहित मेखराज, सुवास, टङ्क, खेमराज, सायदको टोली खुला चौरमा क्रिकेट खेल्न जान्छन् । खेल खेल्दै गर्दा आफूलाई क्रिकेटका वादशाह धोनी, कोहली, रोहित शर्मालगायत नेपाली क्रिकेटका नाममा आफूलाई चिनाउँछन् । गणेश जोशी क्रिकेटमा लामो सर्ट हान्नसक्ने हुँदा दीपेन्द्रसिंह ऐरीलाई सम्झन्छन् । दीपेन्द्रको खेलबाट प्रभावित भएको बताउने उनले ब्याटिङ गर्दा ‘छक्का दीपेन्द्र’ भन्दै सके जति बल टाढा फाल्ने कोसिस गर्छन् । टिमका सहभागीले पनि दीपेन्द्रको चौका छक्का शुरू भन्दै हुटिङ गर्छन् । त्यसपछि गणेशले सके जति बल टाढा फाल्छन् ।

खप्तडछान्ना–५ पिठातोलाको सुकिला ढङ्गमा खुला चौर हुँदा हरेक साँझ बालबालिका जम्मा भएर क्रिकेट खेल्छन् । क्रिकेटका सबै नियम थाहा पाएका बालबालिका आफैंले बनाएको काठको ब्याड र कपडाको बलले क्रिकेट खेल्ने गरेको सुवास जोशीले बताए । ‘पहिले–पहिले टाइमपास, डन्डीबियो, चुन्नी, आराम विश्राम (खुट्टाले खेलिने) खेल्थ्यौं । आजभोलि कसले चौका-छक्का हान्छ, कसले विकेट लिन सक्छ भनेर क्रिकेट खेल्न रुचि लाग्छ’, उनले भने । सुवासका अनुसार गाउँघरमा सबै बालबालिकाको नजरमा क्रिकेट नै हुन्छ । ‘राति मोबाइलमा क्रिकेट हेर्ने र दिउँसो अभ्यास गर्दैगर्दा क्रिकेटको लत बसेको थाहै भएन’, उनले भने ।

पिठातोलामा बालबालिकाले क्रिकेट खेल्न थालेको धेरै भएको छैन । ’हाम्रो पालामा पुरानै खेलहरू खेलिन्थे । अहिले गाउँघरमा सबैका हालमा मोबाइल फोनहरू छन् । नेटवर्कले राम्रै काम गर्छ । इन्टरनेट पनि फोरजी चल्न थाल्यो । बालबालिका मोबाइलमै झुम्मिन थाले । सदरमुकाम चैनपुर, प्रदेश राजधानी धनगढीसम्म पनि आवतजावत हुन थाल्यो । त्यो ठाउँमा देखे । गाउँमा पनि खेल्न थाले’, भरत खत्रीले भने । खत्रीका अनुसार खप्तड छान्नामै पिठातोला धेरै पछाडि परेको गाउँ हो । ‘अन्य ठाउँभन्दा पछाडि पिठातोला छ । त्यही ठाउँमा पनि क्रिकेटलाई माया गर्न नयाँ पुस्ता देखिएका छन् । अहिले हेर्दा त नयाँ पुस्ताको मन मष्तिष्कमै क्रिकेट देखिन्छ’, उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७