नेकपा एसको निष्कर्ष : गठबन्धनका दलबाट सुवातमै कुठाराघात भयो


५ बैशाख २०८१, बुधबार
jagannath khatiwada
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले गठबन्धनका मुख्य राजनीतिक शक्तिहरूले विश्वासमाथि कुठराघात गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय आलोकनगरमा आज (बुधबार) बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हिजोसम्म हामीले सहकार्यमा विश्वासको आदान प्रदान गरौँ भनेर दौडिरहेका थियौँ । गठबन्धनका शक्तिहरूले कुठाराघात गरिरहेका छन् ।’ गठबन्धका दलका नेताहरूले जस्तो व्यवहार गर्छन् आफूहरूले त्यस्तै उत्तर दिने पनि खतिवडाले बताए ।

उनले भने, ‘जति माया र विश्वास गर्नु हुन्छ, त्यति नै माया र विश्वास गर्छौ ।’ उनले विगतमा धेरै सहमति भएर उल्लंघन भएको सुनाउँदै कागजमा के लेखिएको छ भन्ने कुरा ठूलो नभएको बताए । उनले भने, ‘एकीकृत समाजवादीले के गर्छ भन्ने कुरा चाहिँ ठूलो हो ।’

प्रवक्ता खतिवडाले सत्ता गठबन्धनमा आफ्नो पार्टीले बार्गेनिङ नगरेको स्पष्ट पारे । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नयाँ सत्ता समीकरण बनाएका हुन्’, उनले भने । खतिवडाले ओलीले समाजवादीलाई हजारौं पटक आलोचना र गाली गरेकाले हिसाब गरेर बस्न नसकिने बताए ।

बैठकले जेठमा गर्ने भनिएको पार्टीको १० औँ महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ । खतिवडाले भने, ‘जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौँमा गर्ने निर्णय भएको छ।’ आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरी महाधिवेशन सार्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७