जिसी दम्पती हत्याको १७ दिन : २०० बढीसँग सोधपुछ, दोषी पत्ता लगाउन ‘सकस’


५ बैशाख २०८१, बुधबार
Gc dampati parbat

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन । चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली समेत घटनास्थल वरिपरी नै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीले समेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताए । उनले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि अनुसन्धानमा जुटेको छ’, उनले भने, ‘हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।’

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । ‘घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एक जनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको उनले बताए । ‘त्यसको अनुसन्धान गरिराखेका छाैं’”, डिएसपी भुसालले भने । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घर परिवारसँग जोडिएका सबै गरी दुई सय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताए ।

दम्पतीको हत्या भएको दुईहप्ता वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका– २ का वडाध्यक्ष प्रकाश जिसीले बताए । घरमा ती दम्पती मात्रै बस्दै आएका थिए । दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका थिए । उनीहरूको हत्या योजनावद्ध र पेशेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ ।

साथमा मोबाइललगायत अन्य कुनैप नि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ । जिसी दम्पतीले पोखरामा जग्गा किन्न भन्दै सहकारीबाट ऋण लिएर घरमा राखेको हुनसक्ने आशङ्कामा लुटपाटकै लागि हत्या गरिएको देखिन्छ, भने उनीहरूको लगाएका गर गहना समेत लुटिएको छ । ‘कुनै–कुनै घटनाका दोषी पत्ता लगाउन लामो समय लाग्नसक्छ, हामी तथ्यको नजिक पुग्दैछौँ, केही दिनमा सफलता मिल्नेमा आशावादी छाँै’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७