भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ


६ बैशाख २०८१, बिहीबार
barsaman pun 1713403526

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल जस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपाल जस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्रीले विकसित देशहरुलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गरे । उनले नेपाल जस्ता देशले सामना गर्नुपरेका जलवायु प्रभावजन्य जोखिम घटाउन विश्वसमुदायको साथ र सहयोग अपरिहार्य भएको बताए ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावका कारण नेपालका निर्धन एवं सीमान्तकृत वर्गले भोग्नुपरेका समस्याबारे जानकारी दिँदै जलवायु परिवर्तनका प्रभाव वृद्धिमा नेपालको कुनै योगदान नरहेको दोहोर्‍याए । उनले जलवायु परिवर्तन प्रभावका कारण अनपेक्षित रुपमा नेपालमा वर्षा, बाढी, पहिरो र खडेरी बढिरहेको जानकारी पनि दिए । त्यसबाट प्रकृतिक विपत्ति थपिएका र दिगो विकासका प्रयास, मानव स्वास्थ्य एवं जनजीविकामा असर परेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७