गृहमन्त्रीको अघि रोइन् रमिला, कालीबहादुर खाम पक्राउ परे पनि आफू असुरक्षित रहेको गुनासो

‘दोषीलाई कारवाही होस् , मैले श्रीमान नपाए पनि न्याय पाउँ’


६ बैशाख २०८१, बिहीबार
Ramhari budi

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व. श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

आज (बिहीबार) सिंहदरबारस्थित मन्त्रालयमा श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका छोरा रोहन श्रेष्ठले खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् । गृहमन्त्री लामिछाने सामु भक्कानिएकी रमिलाले हत्या आरोपी खाम पक्राउ परे पनि आफूहरु अहिले पनि असुरक्षित रहेको गृहमन्त्रीसँग गुनासो गरेकी छन् ।

उनीहरुले कुनै पनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे । भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताइन् । यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक–पटक छोडिएको भन्दै उनले अपराधीलाई कारबाही गर्न माग गरिन् । श्रीमान् नपाए पनि अब न्याय पाउने आश लागेको उनको भनाइ थियो । उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौती बढेको बताइन् ।

उनले भनिन्, ‘अपराधी राजनीतिक संरक्षणमा नछुटोस् । पहिला पनि राजनीतिक संरक्षणका कारण पटक–पटक छुटेको रेकर्ड छ । उसलाई कारबाही होस् । मैले श्रीमान नपाए पनि न्याय पाउँ । मलाई न्याय पाउँछु कि भन्ने आश लागेको छ । मन हलुका भएको छ ।’ पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताए । उनले काम गर्न जटिलता भए पनि अपराधीलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाए । उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताए ।

उनले भने, ‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसाबले होइन, हामीले न्याय के हो ? सत्य के हो ? त्यसमा काम गर्ने हो। केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमान्दारीपूर्वक काम गरिरहेका छौँ। हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं। कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानुनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’ गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभइ आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताए । श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम चैत २० गते पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७