तस्करको दबाब र आईजीपीको स्वार्थमा अवधि नपुग्दै एसपीको सरुवा


६ बैशाख २०८१, बिहीबार
Rabi lamichhane and IGp Basata Kuwar

काठमाडौं : प्रहरी नियमावली-२०७१ भन्छ, ‘इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गरिनेछ ।’ नियमावली अन्तरगत प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड–२०७९’ मा प्रहरी उपरिक्षक (एसपी) हकमा भनिएको छ, ‘कार्यालय प्रमुखको रुपमा खटिएका प्रहरी उपरीक्षकरु सामान्यतया १ वर्ष अवधिसम्म सो जिम्मेवारीमा वहाल रहनेछन् ।’

छानविन, कारबाही अथवा निलम्बन बाहेकको अवस्थामा एक वर्ष अगावै जिल्ला इन्चार्जको सरुवा प्रहरी नियमावली विपरित हो । यही नियमावली र सरुवा मापदण्ड विपरित जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको दुई महिना नबित्दै सरुवा गरिएको छ । उपप्रधान एवं गृहमन्त्रीको रूपमा रवि लामिछानेको ‘अप्ठ्यारो’लाई हतियार बनाएर प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर र गृहमन्त्री लामिछानेका सचिवालयको मिलेमतोमा अपमानजनक तरिकाले एसपीहरुको सरुवा गरिएको छ । मधेश प्रदेशका ३ एसपी त सरुवा भएको ५३ दिनमा, बारा, बाँके सहित मधेश प्रदेशका ६ जिल्लाका एसपीहरुमध्ये कोही ५० दिनमा, कोही ६ महिनामा अपमानजनक सरुवा गरिएका हुन् ।

१ फागुन २०८० मा ७८ जना एसपीहरुको सरुवा गरिएको थियो । ती मध्ये फागुन २ मा महोत्तरीमा पठाइएका श्यामकुमार राई र सर्लाहीमा पठाइएका दयानिधि ज्ञवालीलाई २३ चैत २०८० अर्थात् ५३ दिनमा नै फिर्ता बोलाइएको छ । सरुवा निस्केको मितिले ५३ दिन भएपनि सर्लाहीका एसपी ज्ञवाली र महोत्तरीका राई सरुवा भएको ४६ दिन र रमाना बुझेर गएको ४० दिनमै तानिएका हुन् । ज्ञवाली र राईलाई विना कुनै आधार तानिएको प्रहरी उच्च अधिकारीहरुको भनाई छ । एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) भन्छन्, ‘यो त अपमानको पनि हद भयो । उनीहरुलाई तान्नु पर्ने कुनै पनि कारण छैन ।’

महोत्तरीमा राईको ठाउँमा नकुल पोखरेल, सर्लाहीमा ज्ञवालीको ठाउँमा रविन्द्र बहादुर सिंहलाई पठाइएको छ । महोत्तरी पठाइएका पोखरेल र सर्लाहीमा पठाइएका सिंह दुबै आईजीपी कुँवरका नजिकका पात्र हुन् । स्रोतका अनुसार आईजीपी कुँवरले यसअघि नै मधेसका जिल्लाहरुमा आफ्ना नजिकका अधिकृतहरु पठाउन खोजेका थिए ।

प्रहरी नायब महानिरीक्षक (डिआईजी) को जिम्मेवारीमा रहेको बेला मधेस प्रमुखको कमाण्ड सम्हालेका आईजीपी कुँवरलाई मधेसको आर्थिक चलखेलको बारेमा गहिरो ज्ञान छ । प्रहरी मुख्यालका एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘मधेसलाई राम्रो बुझ्नु भएको छ । आफू निकटलाई पठाएर आफू अनुकुल चलाउन चहानुहुन्छ ।’ आफू अनुकुल अर्थात् आर्थिक लाभ लिन चहान्छन् ।

राई र ज्ञवालीसँगै पर्साको जिम्मेवारी पाएका एसपी कुमोद ढुंगेललाई पनि सरुवाको तयारी गरिएको थियो । स्रोतका अनुसार आईजीपी कुँवरका सचिवालयका एक अधिकारीले ढुंगेललाइै सरुवाको गोप्य सूचना दिएपछि रातारात काठमाडौं आएका थिए । एसपी ढुंगेलले काठमाडौं आएर आईजीपी कुँवर र गृहमन्त्रीका सचिवालयका मान्छेलाई भेटेपछि उनको सरुवा रोकिएको थियो । ज्ञवालीले ४५ दिनमा ३ सयभन्दा बढी फरार अभियुक्त पक्राउ गर्नेदेखि नक्कली नोट कारोबारीहरुको गिरोह नै पक्राउ गरेका थिए ।

उत्कृष्ट काम गरिरहेका तानिए
आरती शाहको मृत्युपछि विश्वराज खड्कालाई फिर्ता बोलाएर धनुषामा पठाइएका प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा ५ महिनामा फिर्ता भए । उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्तिक २३ मा उनलाई धनुषा पठाएका थिए । नेपालगञ्जमा हिन्दु मुस्लिम दङ्गा भड्किएपछि तनावपूर्ण अवस्थाको जिम्मेवारी सम्हाल्न बाँकेमा पठाइएका एसपी सुवास चन्द्र बोहरा पनि ६ महिनामै तानिए । बोहरा लाई सरुवा गरेर बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ ।

बारामा उत्कृष्ट काम गरिरहेका एसपी सुरेश काफ्लेलाई ६ महिनामौ तानेर कुँवरले आफ्ना नजिकका महेन्द्र खड्कालाई पठाएका छन् । एपसी काफ्ले हुन्डी कारोबारी र अखाद्य व्यापारीहरुको दबाबमा तानिएको स्रोतको दाबी छ । हुन्डी कारोबारी, अखाद्य व्यापारी र राजस्व छली विरुद्ध निर्मम रुपमा प्रस्तुत भएका एपसी काफ्लेले लक्ष्य भन्दा बढी राजस्व उठाइदिएका थिए ।

संजय अग्रवालको समूहले भारतमा म्याद गुज्रिएको ठूलो परिमाणको दाल बारा र बीरगंजका दाल मिलमा ल्याई पोलिस गरी काठमाडौंदेखि देशका विभिन्न सहरमा आपूर्ति गर्दैआएको छ । यो समूह विरुद्ध एसपी काफ्ले निर्मम बनेका थिए ।

गएको चैत २० गते बारा प्रहरीले एनआरएन मलेसियाका राकेश कुशवाहा समूहका हुन्डी कारोबारमा छापा हानी साढे १३ लाख नगद र दैनिक कम्तीमा साढे ३ करोड रुपैयाँको कारोबार हुने गरेको तथ्य फेला पारेको थियो । कुशवाहको गिरोहबाट दैनिक साढे ३ करोडको अबैध हुन्डी कारोबार भएको मोबाइल र खातापाता बरामद गरेको थियो । कुशवाहको गिरोहले मलेसियामा कार्यरत नेपाली युवाहरुको पैसा मलेसियन रिंगेट नेपाल जान नदिई चीन पठाउने र सोबापत भारतीय ब्यापारीहरुले अर्डर गरेको सामान भारत पठाउने गरेका छन् ।

भारतीय ब्यापारीहरुले सोबापत पैसा नेपाल पठाउने र नेपालमा पैसाको काम गर्ने जिम्मा राकेश कुशवाहाले गर्दैआएका थिए । यो गिरोहभित्र बीरगंजका सुन ब्यापारी राजु दारुकादेखि आरके मनी ट्रान्सफरका राकेशकुमार कुशवाहा र रमेशप्रसाद कुशवाहा, बिष्णु मनी ट्रान्सफरका बिष्णु केसी, बीरगंजका विक्की जैन, जीतपुर सिमराका साजिद अन्सारी, बीरगंजका धिरज गी, नवनीत अग्रवाल, संजित, अरुण अग्रवाललगायत छन् ।

त्यसैगरी, बीरगंज र बारामा हुन्डी कारोबार गर्ने भारतीयहरुमा रामशंकर कलवार, जटाशंकर कुशवाहा (भोले , सुबोध जैसवाल, अरुण केशरी, दिलीपजी, सोनु कलवार छन् । बारामा आरके मनी ट्रान्सफरका राकेशकुमार कुशवाहको समूह समातिएपछि बीरगंजका ब्यापारीको दबाबमा एसपी काफ्ले तानिएका स्रोतको दाबी छ ।

गृहमन्त्रीको अप्ठ्यारोमा मनपरी
स्रोतका अनुसार कार्यसम्पादन, इन्टीग्रिटी र आर्थिक कारण अपर्झट सरुवा गर्नुपर्ने भन्दै आईजीपी कुँवरले गृहमन्त्रीलाई ब्रिफिङ गरेका छन् । आईजीपी कुँवरले यी एपसीहरुको सरुवा अघि गृहमन्त्री लामिछानेका स्वकीय सचिव दिपक बोहेरासँग छलफल गरेको आईजीपी कुँवरले आफू निकटहरुलाई बताएका छन् ।

सहकारी प्रकरण, कांग्रेसको निरन्तरको बिरोध आदिका कारण गृहमन्त्री लामिछाने प्रहरी संस्थापन अर्थात् आईजीपी कुँवरलाई टाढा राख्ने अवस्थामा छैनन् । स्रोतका अनुसार आईजीपी कुँवरले गृहमन्त्रीको यही अप्ठ्यारोमा खेलेर आफू अनुकुल सरुवा गरेका हुन् । स्रोतले भन्यो, ‘गृहमन्त्री प्रहरीलाई बिच्काउने पक्षमा हुनुहुन्न, आईजीपी कुँवरले यही अप्ठ्यारोलाई बुझेर मनपरी गरीरहेका छन् ।’

आईजीपी कुँवरले एसपी सरुवाको ‘जस्टिफिकेशन’ कुनै पनि हिसाबले दिनै नसक्ने प्रहरी उच्च अधिकारीहरुको भनाई छ । गृहका एक उच्च अधिकारी भन्छन्, ‘गृहमन्त्री आफैलाई कतिखेर छानविनमा तानिने हो भन्ने मनोवैज्ञानिक त्रासमा हुनुहुन्छ । अप्ठ्यारोमा प्रहरी प्रमुखले आफ्नो स्वार्थमा काम गरीरहेको देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७