अन्तिम समयमा सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमाले सुदूरपश्चिम सरकारमा नजाने


६ बैशाख २०८१, बिहीबार
Sudur UML

काठमाडौँ । अन्तिम समयमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरे पनि नेकपा एमाले तत्काल उनी नेतृत्वको सुदुरपश्चिम सरकारमा सहभागी नहुने भएको छ ।

आज (बिहीबार) एमाले, माओवादी, समाजवादी, नाउपाका दुई सांसद र एक स्वतन्त्रको समर्थनमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका छन् । सोडारीले माओवादीका १० जना, एमालेका १०, समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र एक स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन रहेको जनाउँदै दाबी पेश थिए ।

सोडारीलाई समर्थन नै नदिने पक्षमा रहेको एमालेले कांग्रेसहितको सरकार बन्नबाट रोक्न अन्तिम समयमा उनलाई समर्थन गरे पनि सरकारमा भने तत्काल नजाने निर्णय लिएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ । सानो मन्त्रीमण्डल बनाउने सम्भावना पनि रहेको छ । तर, एमाले भने सरकारमा तत्काल सहभागी नहुने जनाएको छ । एमालेसहित, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७