फिल्म ‘पूर्णबहादुरको : सारङ्गी’ को मोसन पोस्टर सार्वजनिक


७ बैशाख २०८१, शुक्रबार
sarangi

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्णबहादुरको : सारङ्गी’ निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ ।

सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ– तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ? हाँस्दै बाउले जवाफ दिन्छ– म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ । गला अबरुद्ध हुन्छ । थप बोल्न सक्दैन ।

स्वभाविक पनि हो, उसलाई हेर्दा ऊ गाउँघरमा सारङ्गी रेटेर आफ्नो घरपरिवार चलाइरहेको अनुमान लगाउन सकिन्छ । ऊ जहाँ जान्छ, बच्चालाई यसैगरी सँगै लिएर हिँड्ने गरेको बुझ्न सकिन्छ । गाउँ छोडेर सहरसम्मको पँखेटा लगाउने उसमा चाह भए पनि परिवन्धमा परेर घर छोड्न नसकेको अनुमान लगाउन सकिन्छ । उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ ।

हुन पनि हो, यो संसारमा मान्छे एउटा त्यस्तो प्राणी हो जसले एउटा व्यक्तिको मात्रै इर्ष्या गर्दैन । त्यो हो सन्तान र उसको प्रगति । आफ्नै दाजुभाइको समेत इर्ष्या गर्ने मान्छेलाई आफ्नो सन्तानले भने आफूलाई पनि उछिनेर अगाडि बढेको हेर्ने चाह हुने गरेको बताइन्छ । त्यही तथ्यलाई यो संवादले संकेत गरेको छ ।

संवादपछि सन्तानको खुशीका लागि आफूले सकेजति घाम र हुरी पनि छेकिदिने र शरीरमा एकमुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने माया दशाइरहेका बेला फिल्म ‘सारङ्गी’ को मोसन पोस्टरको क्रेडिट लाइन सुरु हुन्छ । फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा भन्ने मोसन पोस्टरमाफर्त् संकेत गरेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७