सत्ता सहकार्य कमजोर पार्ने काम नगर्न गठबन्धन दललाई एमालेको आग्रह


९ बैशाख २०८१, आईतवार
amale 4

काठमाडौँ । नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न आग्रह गरेको छ । आइतबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न आग्रह गरेको हो ।

एमालेले आफुसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग नयाँ सत्ता समिकरण निर्माण भएकोप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै एमालेले सत्तारुढ ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत प्रमुख समस्याहरूलाई समाधान गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७