कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छ : प्रधानमन्त्री


१० बैशाख २०८१, सोमबार
Prachanda pm interview 1 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताएका छन् । समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्म जयन्ती र नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । वर्ग संघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ । यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ।’

प्रधानमन्त्रीद्वारा जारी शुभकानमा सन्देशमा भनिएको छ, ‘विचारधारात्मक सङ्घर्ष एवम् एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौं । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिष्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ ।’

कम्युनिष्ट एवम् वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्ने भन्दै प्रचण्डले सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु साझा जिम्मेवारी उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७