आइजी इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान, राईलाई निमित्तको जिम्मेवारी


१० बैशाख २०८१, सोमबार
ig basanta kunwar dig prem prasad rai

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ । सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललगायत प्रहरी अधिकृतले बिदाइ गरेका थिए । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्स प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७