यी हुन् खाली सिसी म्यानेजमेन्टकी संस्थापक प्रमुख


११ कार्तिक २०७४, शनिबार
ayushi

काठमाडौं : खाली सिसीवाली, कवाडीवालीजस्ता नामले चर्चामा रहेकी आयुषी केसी खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक प्रमुख हुन् । उनको यो कम्पनीले घरघर पुगेर फोहोर संकलन गर्छ ।

ayushi
फोहोरलाई बोतल, प्लास्टिक, कागजलगायतका वर्गमा विभाजन गरेर उनी अरू बिक्री केन्द्रमा बेच्छिन् । युएसएडको जागिर छाडेर खाली सिसी कम्पनी खोलेकी उनले कवाडी संकलनका लागि विशालनगरमा कार्यालय पनि खोलेकी छिन् ।
व्यवस्थापनमा स्नातक उनी एकपटक अमेरिकास्थित आफन्तको घर पुगेकी थिइन् । त्यहाँ फोहोर व्यवस्थापन गर्ने शैली देखेर कवाडी सामानको पुनः प्रयोगबारे उनमा सोच पलाएको हो । नेपाल फर्केपछि उनले आफ्नो योजनाबारे परिवारलाई सम्झाउन निकै मिहिनेत गरिन् । भनिन्, ‘सुरुमा त सबैजना हाँस्नुभयो, तर पछि मैले उहाँहरूलाई विश्वस्त बनाएँ र परिवारले साथ पनि दिनुभयो ।’ परिवारको साथ पाएपछि कम्पनी दर्ता गरेकी आयुषीले चार महिनाअघि गत जुलाईमा आधिकारिक रूपमा काम सुरु गरेकी छिन् ।
कम्पनीले अहिले उपत्यकाभित्र विभिन्न ठाउँबाट पुनः प्रयोग हुने कवाडी सामान उठाउँछ । उनको कम्पनीलाई घरघरबाट फोहोर उठाइदिनका लागि फोन पनि आउने गर्छ । प्रत्येक घरबाट निस्कने ६० देखि ७० प्रतिशत फोहोर पुनः प्रयोग गर्न मिल्ने किसिमको हुन्छ । उद्देश्य खुलाइन्, ‘हामीमा फोहोर संकलन संस्कृति छैन । पुनः प्रयोग हुने फोहोर संकलन संस्कृति बसाउने प्रयास पनि हो मेरो ।’
कवाडीवाला खाली सिसी खोज्न जाँदा गेटबाट भित्र छिर्न नदिने र उनीहरूको कामको अवमूल्यन गर्ने गरिन्थ्यो । सरसफाइमा महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि उनीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन, तर अहिले त्यसमा धेरै परिवर्तन आएको छ ।
वेबसाइटबाट अनलाइनमै पुनः प्रयोग हुने सामग्रीको अर्डर लिने गरेकी छिन् । सम्पर्कमा आएको सामग्री उठाउन उनले खाली सिसी, पुराना कागज, फलाम भन्दै टोलटोलमा साइकल लिएर डुल्ने दाजुभाइको सहयोग लिइरहेकी छिन् । यस्ता दाजुभाइ अहिले करिब डेढ सयजना कम्पनीको सम्पर्कमा छन् ।
कम्पनीमार्फत काम गर्दा दाजुभाइले साइकल डो¥याएर टोलटोलमा घुम्नुपर्दैैन । बोलाइएको ठाउँमा गएर सामान ल्याउने हो । खाली सिसी, पुराना खाता, किताब उठाउने दाजुभाइलाई समाजले हेयको दृष्टिले हेर्ने र मधिसे, भैया, कवाडीवालाजस्ता भाषाले सम्बोधन गर्ने शैलीमा पनि बदलाव आएको उनी दाबी गर्छिन् ।
‘कवाडीवाला खाली सिसी खोज्न जाँदा गेटबाट भित्र छिर्न नदिने र घरमा केटाकेटीलाई डर देखाउन कवाडी भैयाले लान्छ जस्ता नकारात्मक भ्रम छरेर उहाँहरूको कामको अवमूल्यन गर्ने गरिन्थ्यो,’ उनले भनिन्, ‘समाज तथा वातावरण सफाइमा उहाँहरूको महŒवपूर्ण भूमिका हुँदाहुँदै पनि सचेतनाको कमीले उहाँहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन, तर यो कामले धेरै परिवर्तन ल्याएको छ ।’
आयुषीको सम्पर्कमा आएको सामान उठाउन जानेहरूले कम्पनीको कार्ड भिरेका हुन्छन् । उनीहरू जति मूल्यबराबरको सामान उठाउँछन्, उनीहरूले त्यसको १५ प्रतिशत रकम आयुसीको कम्पनीलाई दिनुपर्ने हुन्छ । आयुषी एक्लैले सुरु गरेको कम्पनीमा अहिले १५ जना कर्मचारी छन् । कसैले दान गरेको सामान छ भने त्यसलाई कवाडी सामान उठाउने दाजुभाइले बेच्न सक्छन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७