‘कतारी अमिरको भ्रमणमा दक्षिण कोरियास्तरको पारिश्रमिकका लागि पहल गर्नुपर्छ’

कतारमा हाल झण्डै चार लाख नेपाली कामदार कार्यरत


१० बैशाख २०८१, सोमबार
amir

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि नेपालको दुई दिने राजकीय भ्रमण गर्दैछन् । मध्यपूर्व एसियाबाट पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।

सन् २०१९ देखि २०२२ सम्म कतारमा नेपाली राजदूत भएका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउँछन् । ‘भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नुपर्छ, कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो, कतारी अमिरले भ्रमणका क्रममा सहमति जनाएपछि त्यसमा लागू गर्न कुनै बाधा अवरोध हुँदैन ।’

कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मक रूपमा न्यून छ । कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन् । जबकि कतार तुलनात्मक रूपमा विकसित र धनी मुलुक हो । भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ ।
कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ । तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनु पर्छ ।

उनले भने, ‘कतारले यसअघि नै सुरक्षा क्षेत्रमा नेपाली नागरिक लैजाने प्रयास गरिरहेको थियो र नेपालले पनि त्यसबारेमा निर्णय गरेको छ । तर कार्यान्वयन भएको छैन । उनीहरुको दृष्टिकोण पनि बुझेर यो विषय पनि कतारी अमिरको भ्रमणका बेला अघि बढाउन सके आम्दानी हिसाबले ठूलो लाभ हुन्छ ।’ त्यस्तै कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ । तर नेपालले यसमा प्रतिबन्ध गरेको छ । यद्यपि भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम नेपाली महिलाको संख्या ठूलो छ । जुन व्यवस्थित पनि हुनसकेको छैन ।

घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ । कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्न क्षेत्रमा आह्वान गर्नुपर्छ । कतारले विश्वमा धेरै मुलुकका विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । नेपालमा पनि कानुनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्छ । रियलस्टेट, जलविद्युत्, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिन्छन् । ‘कतारमा लाखौँ नेपालीले लामो समयसम्म गरेको श्रमको कदर र आत्मीयताका लागि पनि कतारले नेपालमा लगानी गर्नुपर्छ । स्वदेश फर्केका नेपालीलाई उद्यम सञ्चालनका लागि र कतार जाने नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि पनि कतारले सीप विकास केन्द्र खोल्नलाई पनि सहयोग गर्नुपर्छ’, उनले भने । कतारले विश्वका विभिन्न क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कतारले नेपालमा लगानी गरेमा यसले दुई देशका जनताबीचको सम्बन्ध समेत विस्तार हुने अध्यक्ष भण्डारीको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको हकहितका लागि कतारसँगको विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको बताए ।

दुई दिने भ्रमणका अवसरमा कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गनर्ने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् । त्यस्तै कतारका अमिरले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्नुहुने छ । वार्तापछि दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौँबाट प्रस्थान तालिका छ ।

‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम् लाभ लिनुपर्छ’
पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले सानो भूगोल र थोरै जनसंख्या भए पनि दूरदर्शी नेतृत्व र उपलब्ध साधनस्रोतको अधिकतम सदुपयोग गर्नसके छोटो अवधिमै कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपालले कतारबाट सिक्न सक्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्धनको उत्खनन सुरु भइसकेपछि कतारले आफ्नो भौगोलिक आकारभन्दा धेरै माथि अन्तर्राष्ट्रिय शान्ति र सहयोगमा विशिष्ट भूमिका खेलिरहेको बताए ।

उनले भने, ‘क्षेत्रीय शान्ति कायम, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र ठूला राजनीतिक तनावलाई समाधानका लागि कतारले समन्वयकारी र निर्णायक भूमिका खेल्नेगरी अघि बढिरहेको छ ।’ पूर्वमन्त्री कार्कीले नेपाल पनि द्वन्द्वपछि शान्ति प्रक्रियामा अघि बढिरहेको सन्दर्भमा मुलुकको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन कतारको अनुभवबाट महत्वपूर्ण शिक्षा लिन सकिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन मद्दत गर्न सक्ने विचार प्रकट गरे । उनले भने, ‘नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा कतार रहेको छ । विप्रेषणको ठूलो हिस्सा कतारबाट आइरहेको छ । कतारको विकासमा नेपालीले पुर्याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झण्झन्टलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उपलब्ध गराउनुर्छ ।’

पूर्वमन्त्री कार्कीले भौगोलिकरूपमा सानो भए पनि अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण भूमिका खेल्न सकिने उल्लेख गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय तनावलाई कम गर्न कतारले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको घटना सुनाए । कतारको लगानीमा नेपालको हिमालय क्षेत्रको पिउने पानी प्रशोधन र प्राङ्गारिक कृषिजन्य उत्पादनमा लगानी गरी निर्यात गर्नसके नेपालले लाभ लिनसक्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले अत्यन्त प्रतिकूल मौसमी वातावरण र सीमित जनशक्तिका बीचमा पनि मुलुकलाई समृद्धिमा लैजान सकिन्छ भन्ने बलियो उदाहरण कतारबाट सिक्न सकिने बताए । उनले भने, ‘कतार बहुआयामिक ढङ्गबाट अघि बढिरहेको छ, नेतृत्वदायी भूमिका खोजिरहेको र देखाइरहेको छ । मध्यपूर्वका मुलुकमा देखिएका विवाद समाधान गर्ने महत्वपूर्ण स्थान कतार बनेको छ ।’

हमास र इजरायललगायत मध्यपूर्वी मुलुकमा देखिएका विवाद समाधानमा कतारले आफूलाई ‘विश्व च्याम्पियन’का रूपमा अघि बढाउन खोजिरहेको दृष्टान्त दिँदै डा. भट्टराईले हवाई यातायातको माध्यमबाट विश्वमा आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रान्जिट हवका रूपमा विकास भइरहेको बताए ।

कतारका अमिरको भ्रमण कूटनीतिक हिसाबले नेपाल सकारात्मक बाटोतर्फ अघि बढिरहेको सङ्केत र उदाहरणका रूपमा रहेको उनको भनाइ छ । ‘कतार मध्यपूर्वमा आर्थिकरुपले सम्पन्न हुँदै गएको मुलुक हो । करिब चार लाख नेपाली श्रमिकले कतारमा काम गर्दै आइरहेका छन् । कतारको विकास र समृद्धिमा नेपाली श्रमिकको रगत र पसिना बगेको छ । यस्तो बेलामा कतारका अमिरको नेपाल भ्रमण हुनु अत्यन्त महत्त्वपूर्ण विषय र अवसरको कुरा हो’, डा. भट्टराईले भने ।

कतारको सम्पन्नताबाट नेपालले पनि आर्थिक विकास र सम्पन्नतासँग जोडेर अघि बढ्नका लागि फाइदा लिन सक्ने भन्दै उहाँले श्रम शक्ति विदेश पठाएर नभई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतातर्फ पनि ध्यान दिइनुपर्ने बताए । डा. भट्टराईले भने, ‘कतारलगायत मध्यपूर्वी मुलुकबाट नेपालमा लगानीको उच्च सम्भावना छ । कतारमा नेपालबाट निर्यात बढाउन सकिन्छ । नेपालले ठूलो मात्रामा इन्धन आयात गरिरहेको छ । यस विषयमा पनि हामीले केही सहुलियतपूर्ण सहयोग लिने अवस्था रहन्छ । यी विषयमा नेपालले आफ्नो छलफल अघि बढाउनु पर्छ ।’

उनले कतारमा श्रम गर्ने नेपालीको सुरक्षा र रोजगारीमा देखिएका समस्या समाधान गर्नु अमिरको भ्रमणका अवसरमा सरकारको स्वभाविक ‘एजेण्डा’ भित्र पर्ने बताए । नेता भट्टराईले भने, ‘कतारले केही वर्षयता आफ्नो प्राकृतिक साधनस्रोतलाई उपयोग गरेर जुन किसिमकको सम्पन्नता र समृद्धि हासिल गरेको छ । राजनीतिक स्थायित्वभित्र राम्रो दृष्टिकोण भएको नेतृत्वको माध्यमबाट आर्थिक समृद्धि र विकासमा अघि बढेको छ । आफ्नो प्रकृतिले दिएको साधनस्रोत प्रयोग गरेर अगाडि जान सकिन्छ भन्ने पाठ सिकाएको छ ।’

नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले पछिल्लो समय कतार कूटनीतिक र आर्थिक रुपमा अन्त्यन्त सफल हुँदै गइरहेको धारणा राखे । ‘इजरायल र हमासबीच विवाद समाधानमा अमेरिका र बेलायतलगायतका मुलुकले पनि कुनै न कुनै रुपमा कतारको मध्यस्थताको भूमिका खोजिरहेका छन्’, उनले भने ।

अमिरको भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको सेवासुविधाका बारेमा छलफल र परामर्श गर्नुपर्नेमा जोड दिँदै नेता खड्काले श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्न सुझाव दिए । चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्वसमुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको बताए । उनले कतारसँगको सहकार्यमा नेपाली श्रमिकलाई प्रशिक्षित गर्ने प्रशिक्षण केन्द्र स्थापना गर्न सके दुई देशबीचको जनस्तरमा समेत सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गरे । उनले नेपाललाई महत्व दिएर कतारका अमिरबाट हुने भ्रमणका अवसरमा खुला हृदयले स्वागत गर्दै आथित्यता प्रदान गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७