देउवालाई ओलीको व्यङग्य : मेरा पुराना मित्र, घरीघरी अलि जोशिनु हुन्छ

‘एमाले हुँदैन थियो भने वापमन्थी र लोकतान्त्रिक आन्दोलन यस्तो अवस्थामा नहुन सक्थ्यो’


१० बैशाख २०८१, सोमबार
kp 3

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘पुरानो मित्र’ भन्दै घरीघरी जोशिने टिप्पणी गरेका छन् । देउवाले मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै प्रश्न गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देउवाप्रति यस्तो टिप्पणी गरेका हुन् ।

‘मेरा पुराना मित्र घरीघरी अलि जोशिनु हुन्छ’, देउवाप्रति संकेत गर्दै उनले भने । अध्यक्ष ओलीले नेपालमा कम्युनिष्ट पार्टी स्थापनापछि लाभै लाभ भएको दाबी गरेका छन् । उनले भने, ‘२००७ सालको आन्दोलनलाई राजा, राणा र दिल्ली मिलेर सम्झौतामा टुङग्यो । राणा प्रधानमन्त्री भए, कांग्रेस र राजा सहभागी भए । कम्युनिष्टले त्यसको विरोध गरेको हो । कम्युनिष्टले नमानेको सही थियो । त्यसकाविरुद्ध उभिँदा प्रतिबन्ध लगायो ।’

उनले अहिलेका गौरवका दिनहरू बलिदानबाट आएको बताउँदै आफूहरूविरुद्ध दमन भए पनि संघर्ष गरिरहेको बताए । उनले भने, ‘एमाले हुँदैन थियो भने वापमन्थी र लोकतान्त्रिक आन्दोलन यस्तो अवस्थामा नहुन सक्थ्यो । समीक्षा गरेर आगामी दिनको बाटोको संकल्प गर्ने थलो हो । एमालेको जिब्रो चिप्ले पनि समाचार बन्छ । अरुमा आशा पलाउँछ ।’

ओलीले सुखी नेपाल र समृद्धि नेपाल बनाउन सबै मिलेर जानुपर्ने बताएका छन् । कम्युनिष्टले भनेको नमान्दा २०१७ साल घटेको दाबी गर्दै उनले जाली जनमत कम्युनिष्ट पार्टीले नस्वीकारेको बताए । उनले थपे, ‘लोकतन्त्र नाटकबाजीले पूरा गर्न सक्दैन भन्नेमा कम्युनिष्ट निश्चित थिए । दरबार हत्याकाण्ड भयो । त्यही समयमा राजतन्त्र समाप्त भयो ।’

उनले राजनीतिक दलहरूले नेतृत्वन लिन नसक्दा एउटा राजा खोजेर कुशको राजा स्थापना भएको टिप्पणी गर्दै ती राजाले दाइ जस्तो होइन भन्दै जनताका अधिकार खोसेको उल्लेख गरे । उनले भने, ‘२०६२–०६३ सालको आन्दोलन भयो । माओवादीको सशस्त्र क्रियाकलाप त्यसकाविरुद्ध सरकारले चलाएको सशस्त्र दमनलाई शान्ति प्रक्रियाबाट शान्ति प्रक्रियामा ल्यायौँ ।’

ओलीले कम्युनिस्टमा विभाजन विखण्डन भएको र एकता पनि भएको बताए । उनले भने, ’२०५४ सालमा एक विभाजन भयो । २०७७ सालमा विभाजन भयो । विभाजन हुनुहुँदैन थियो । समीक्षा गरौँला । तत्काल पार्टी एकीकरण भइहाल्छ भन्ने छैन । यसले आन्दोलनमा समस्या आउँछ । सहकार्य गर्दै आगाडि बढ्छौँ । क्रमशः एकताको बाटोमा जान सक्छौँ । अहिले नै मिलौ भन्ने हो भने के कारण फुटेका थियौँ प्रश्न उठ्छन् । ठ्याक्क वामपन्थी मिलेर अगाडि जान सक्ने अवस्था छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७