राष्ट्रपतिले कतारका राजालाई गरे विपिन जोशीको रिहाइको आग्रह, शेखले भने–पहल गरिरहेका छौंं


२०८१ बैशाख ११ मंगलबार ०७:५० बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले भने, ‘राष्ट्रपति ज्यूले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो । सो क्रममा कतारी राजाले कतारले पहल गरिरहेको जानकारी दिनु भएको थियो ।’

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत वर्ष भदौ अन्तिम साता इजरायल गएका थिए ।

हमासका आक्रमणकारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए । पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए । दोस्रो पटकको बम भने बंकरमै विस्फोट भएको थियो । विपिनले गत असोज १९ गते शुक्रबार परिवारसँग कुराकानी गरेका थिए ।

त्यस क्रममा उनले आमासँग खाना खाइरहेको बताएका थिए । आक्रमणबारे केही नबताएको परिवारले बताएको छ । भोलिपल्ट शनिबार दिउँसो १२ बजेतिर दाइ किशोरसँग विपिनले भिडिओ कलमा कुरा गरेका थिए । ‘आक्रमण हुनसक्ने भएकाले बंकरमा लुक्न सूचना जारी भइरहेको छ’ भनेर विपिनले किशोरसँग भनेका थिए । त्यसपछि विपिनको अवस्था अज्ञात छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७