तस्वीरमा कतारका राजाको विदाइ


२०८१ बैशाख १२ बुधबार ०६:५७ बजे

काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्किएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित थिए ।

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी मङ्गलबार यहाँ आइपुगेका थिए । कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए ।

भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरेका थिए । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबिच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबिच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७