इलाम–२ को मत गणना थालिंदै, केहिबेरमा सर्वदलीय वैठक बस्दै

बझाङमा १० बजेदेखि मत गणनाको तयारी


१६ बैशाख २०८१, आईतवार
mat

काठमाडौँ । इलाम–२ को मतगणनाको तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज (आइतबार) विहानदेखि हुने भएको हो । यसअघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भने पनि राति ढिलो गरी मतपेटिका मतगणनास्थल मा पुर्‍याइएको छ ।

इलाम–२ को मतगणना इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहमा गरिदैछ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्बदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि शुरु हुनेछ । त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकाले आइतबार बिहान १० बजेभित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको थियो । यस उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम–२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७