इलाम–२ को मतगणना ११ बजेदेखि

बझाङमा सबै मतपेटिका सदरमुकाम ल्याइयो, गणनाका लागि सर्वदलीय वैठक बस्दै


१६ बैशाख २०८१, आईतवार
mat 1

इलाम । इलाम–२ को मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुनेछ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । यस्तै, प्रत्येक मतगणनास्थलमा एक जना उम्मेदवारको एक जना प्रतिनिधि मात्र हुनुपर्ने निर्णय भएको छ । उम्मेदवारको प्रतिनिधि हुन इलाम क्षेत्र नम्बर २ कै मतदाता हुनुपर्ने सहमति भएको छ ।

इलाम २ मा करिब ६० प्रतिशत मत खसेको छ । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणनाका लागि इलाम नगरपालिका– ७ मा रहेको गौतमबुद्ध सभागृहलाई तयारी गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा हृदयाघातबाट निधन भएकाले यहाँ उपचुनाव भएको हो । यहाँको उपनिर्वाचनमा राजनीतिक दलका १२ उम्मेदवार र सात स्वतन्त्रसहित १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीका डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

बझाङमा सबै मतपेटिका सदरमुकाम पु¥याइयो, आजै मत गणना हुने
बझाङमा आइतबार मतगणना हुने भएको छ । बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा शनिबार भएको उपनिर्वाचनको आज मतगणना हुने भएको हो । केही बेरअघि मात्र दुर्गम साईपाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रबाट हेलिकोप्टरमा मतपेटिका सदरमुकाम चैनपुर पुर्‍याइएको छ । अन्य ठाउँका मतपेटिका भने शनिवार राति नै संकलन गरिसकिएको थियो ।

शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, बझाङले जनाएको छ । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन् । जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

मतपेटिका मतगणना स्थल जिल्ला अदालत चैनपुरमा राखिएको छ । अब केही बेरमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा ज्यान गएपछि उक्त क्षेत्रमा उपचुनाव भएको हो ।

नेकपा एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेकबहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, नेकपा एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट सुशीला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७