इलाम–२ को मत गणना थालियाे :  पहिला फाकफोकथुमको, हरेक घण्टा परिणाम सुनाइने


१६ बैशाख २०८१, आईतवार
ilam mata ganana 1

इलाम । इलाम–२ को मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना शुरु भएको हो । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ ।

मत गणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो । वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग–अलग परिणाम सार्वजनिक गर्ने तयारी छ । एउटा वडाका जति वटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ । फाकफोकथुम गाउँपालिका दुई वर्षअघिको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

एमालेका खनालले ५,३२२ मत पाउँदा कांग्रेसका थापाले ४,८२१ मत पाएका थिए । कांग्रेसलाई माओवादी र नेकपा एसको पनि साथ थियो । फाकफोकथुमको उपाध्यक्षमा पनि एमालेकी कल्पना राई ५,१५८ मतसहित बिजयी हुँदा गठबन्धनबाट माओवादीका कुलवहादुर राईले ४,१७४ मत पाएका थिए । ७ वडा वडामध्ये कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा कांग्रेस र बाँकी ३ वडाध्यक्ष एमालेले जितेको थियो । २ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ ।

त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यस पटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७