‘सीमामा मेरो कन्चटमा पेस्तोल तेर्साइयो’


११ कार्तिक २०७४, शनिबार

काठमाडौं : ठाकुर गैरे, विद्यार्थी आन्दोलनको चर्चित नाम । आफ्नो जीवनको दुई दशकभन्दा बढी समय विद्यार्थी आन्दोलनमै बिताएर गैरे अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । पञ्चायतकालीन स्कुले जीवनमै सामन्ती कुसंस्कारविरुद्ध आन्दोलन छेडेर विद्यार्थी राजनीतिको यात्रामा होमिएका गैरेले एक दर्जनजति चर्चित विद्यार्थी आन्दोलनको प्रत्यक्ष नेतृत्व गर्दै स्थापित युवा नेताको हैसियत बनाए । अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका युवा नेता गैरेले आफ्नो राजनीतिक यात्राका कतिपय अविष्मरणीय घटना र केही प्रसंग अाजकाे  नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्  :

thakur gaire youth leaders

ठाकुर गैरे, एमाले नेता
बाहुनले हलो जोत्ने अभियान चलाउँदा।।
गाउँकै विद्यालयबाट मैले एसएलसी उत्तीर्ण गरेँ । माध्यमिक तह अध्ययन गर्दै गर्दा साथीहरू मिलेर चारपाते क्लब गठन गरेका थियौँ । रचनात्मक काम गर्ने उद्देश्यले स्थापित त्यो क्लबले गाउँमा वृक्षरोपण, सरसफाइ, खेलकुद, हाजिरी जवाफजस्ता थुप्रै रचनात्मक काम ग¥यो त्यसवेला । ०४६ अघि पाल्पाका कतिपय गाउँमा बाहुनले हलो जोत्नुहुन्न भन्ने सोच व्याप्त थियो । एक दिन क्लबका साथीहरूबीच त्यस्तो कुप्रथाविरुद्ध धावा बोल्ने सल्लाह भयो । कृषि विषय पढाउने सरले हाम्रो त्यो योजनालाई प्रोत्साहित मात्रै होइन, आफैँ संलग्न भएर नेतृत्वसमेत प्रदान गर्नुभयो ।

क्लबको पहलमा बाहुनले हलो जोत्ने अभियान सुरु गर्‍यौँ । माध्यमिक तहमा अध्ययन गर्दै गर्दा सामन्ती कुप्रथाविरुद्ध छेडिएको त्यो अभियानपछि वामपन्थी राजनीतिमा म झन् आकर्षित भएँ । त्यो अभियानले जिल्लामा ठूलो तरंग पैदा गर्‍यो । पञ्चायतविरोधी आन्दोलनमा जनमत सिर्जना गर्न ०४५ सालको त्यो अभियान साँच्चै सारथी बन्यो ।

कानुन पढ्न छाडेर राजनीतिक यात्रा
एसएलसीपछि दाइले मलाई कानुन पढाउन चाहनुहुन्थ्यो । त्यो उद्देश्य पूरा गर्न उहाँले मलाई बुटवल पठाउनुभयो । तर, मैले दाइको योजनाअनुसार पढ्न सकिनँ । साथीहरूको आग्रहअनुसार अखिलको राजनीति गर्न बुटवलबाट फर्किएर म त्रिभुवन बहुमुखी क्याम्पसमा भर्ना हुन पाल्पा फर्किएँ । सायद बुटवलमै बसेर कानुन पढेको भए जिन्दगीको ‘करिअर’ अन्तै मोडिन्थ्यो कि, जिन्दगीको यात्रा आफैँले या कसैले चाहेअनुसार मात्रै बढ्दो रहेनछ । किनभने, साथीहरूको सल्लाहअनुसार त्यतिवेला जिल्ला फर्किएकैले अखिलको केन्द्रीय अध्यक्ष हुँदै अहिले पार्टी केन्द्रीय सदस्य छु । कहिलेकाहीँ त्यस्तो अनुभूति हुँदो रहेछ ।

बहुदल घोषणापछिको कार्यक्रम सञ्चालक
०४६ को जनआन्दोलन चरमोत्कर्षतर्फ बढ्दै गर्दा २७ चैतमा बहुदलीय व्यवस्था घोषणा भयो । घोषणाको ठीक तीन दिनअघि बिहानै पञ्चायतलाई मृत घोषणा गर्ने, पञ्चायतरूपी मृत शवलाई गाउँ डुलाउनका लागि गाउँभरिबाट शंख बटुल्ने गरी योजना बनायौँ । गाउँ डुलेर शंख पनि बटुल्यौँ ।

तर, २६ गते राति नै पञ्चायतको अन्त्य र बहुदलको घोषणा भएपछि त्यो कार्यक्रमलाई हामीले अन्ततः विजयोत्सवमा परिणत गरायौँ । पञ्चायतको शव डुलाउँदै गाउँका जनतासँग खुसीयाली साट्यौँ । देउरालीमा भएको त्यो विजयोत्सव कार्यक्रमको सञ्चालन मैले गरेँ । मेरा लागि त्यो विद्यालयबाहिर गरिएकोे पहिलो सार्वजनिक कार्यक्रम थियो । पछि त्यो उत्सव जुलुस सदरमुकाम तानसेनमा आएर बृहत् विजय जुलुसमा मिसियो । पहिलो सफल कार्यक्रम सञ्चालन मेरो राजनीतिक जीवनका लागि प्रेरणाको ठूलो स्रोत बन्यो ।

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा ०४९ र ०५१ मा म लगातार दुई कार्यकाल स्ववियु सचिवमा निर्वाचित भएँ । त्यसअघि घनश्याम भुसाल सभापति हुनुहुन्थ्यो । त्यसो त म पनि उहाँकै राजनीतिक प्रभावबाट स्कुले जीवनमै अखिलमा संगठित भएँ । स्ववियुमा हुँदा क्याम्पस पढ्ने कुन विद्यार्थी कसको घरमा डेरा लिएर बस्छ, कण्ठै राखेर सम्बन्ध स्थापित गथ्र्यौँ । विद्यार्थीको नियमित पठन–पाठनका अतिरिक्त सैद्धान्तिक–वैचारिक र अरू रचनात्मक काममा हामी धेरै मिहिनेतका साथ काम गथ्र्यौँ । मलाई लाग्छ, त्यतिवेलाको स्वर्णिमकालले मेरो राजनीतिक जीवनमा ठूलो ऊर्जा प्राप्त भएको हो ।

नेविसंघको झुटो रिपोर्टमा हिरासत
त्यतिवेला स्ववियुमा शोभा सुन्दर नाम गरेका एकजना साथी हाम्रै ‘टिम’बाट स्ववियुमा निर्वाचित भएका थिए । भर्ना गर्दिन्छु भन्दै केही विद्यार्थीबाट पैसा उठाएर उनले भर्ना नै नगरेको घटना सार्वजनिक भयो । अखिलको एउटा कार्यकर्ता त्यस्तो अनुशासनहीन काममा संलग्न हुनु संगठनका लागि असह्य मात्रै होइन, बदनाम गर्ने घटना थियो । त्यसैले संगठनबाट कारबाही गर्ने र पैसा असुलेर सम्बन्धित अभिभावकलाई फिर्ता गर्ने तत्काल निर्णय लियौँ ।

कारबाहीका लागि उपसभापतिको कोठामा ल्यायौँ । त्यो घटना नितान्त अखिलको आन्तरिक मामिला मात्रै होइन, क्याम्पससँग जोडिएको दुःखद घटना थियो । तर, नेविसंघले स्ववियु सदस्यलाई अखिलले कोठामा थुनेर राखेको छ भन्ने गलत ‘रिपोर्ट’ प्रहरीलाई दिएछ । त्यही गलत रिपोर्टका आधारमा प्रहरीले मसहित स्ववियु सभापति, उपसभापतिलाई धरपकड गर्दै गिरफ्तार गर्‍यो । हामीले भ्रष्टाचारविरुद्ध विद्यार्थीको हितमा काम गरेका थियौँ, तर प्रहरी प्रशासन प्रयोग गरेर हामीलाई गिरफ्तार गराइयो । मेरा लागि त्यो हिरासत बसाइ पहिलो थियो । आठ–नौ दिनको हिरासत बसाइमा सार्वजनिक अपराधको मुद्दा लगाइयो । साढे दुई वर्षपछि त्यो मुद्दामा हामीले सफाइ पायौँ । कांग्रेसले सत्ताको कति दुरुपयोग गर्छ, कांग्रेसको सर्वसत्तावाद कस्तो हुन्छ भन्ने कुरा हामीले त्यतिवेला प्रत्यक्ष अनुभूति गर्‍यौँ ।

सुस्ता बचाऊ अभियान म अध्यक्ष भएकै वेला गरेको अर्को महत्वपूर्ण आन्दोलन थियो । पाँच हजार ६ सय विद्यार्थीसहित त्यतिवेला हामीले मार्च पास गर्‍यौँ । लक्ष्मणपुर बाँध भत्काउन जाँदा सिमानामा सुरक्षाकर्मीसँग हाम्रो घम्साघम्सी नै भयो । प्रहरीले हामीमाथि लाठीचार्ज गर्‍यो । एक प्रहरीले मेरो कन्चटमै पेस्तोल तेस्र्यायो । ज्यानकै बाजी राखेर राष्ट्रियता जोगाउने कसम खाएको एउटा आन्दोलनकारी सिपाही त्यतिवेला किञ्चित हडबडाएन । अन्ततः साथीहरूको प्रतिवादपछि घम्साघम्सी साम्य भयो ।
सीमामा कन्चटमा पेस्तोल तेस्र्याइयो
अखिलको नेतृत्वमा रहेर काम गर्दा राष्ट्रियता, जनजीविका र विद्यार्थी हकहितका पक्षमा थुप्रै आन्दोलन गरियो । ती आन्दोलनका थुप्रै सफल घटनाहरू अहिले पनि स्मरण भइरहन्छन् । ०५५ सालमा तत्कालीन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा राष्ट्रिय स्वाधीनताका पक्षमा कालापानी मार्च गरेका थियौँ । रवीन्द्र अधिकारी अध्यक्ष भएपछि मातृभूमिको सन्देश कार्यक्रम गर्‍यौँ ।

गायक प्रवीण गुरुङको हत्यारा तत्कालीन शाहज्यादा पारसमाथि कारबाहीको माग गर्दै पाँच लाख २३ हजारजनाको हस्ताक्षर दरबारमा बुझायौँ । कपडामा संकलन गरिएको त्यो हस्ताक्षर तत्कालीन राजा वीरेन्द्रलाई बुझाउन हामी दरबार गएका थियौँ । हस्ताक्षर बुझाएपछि दबाब थेग्न नसकेर नेपालको इतिहासमा तत्कालीन राजा वीरेन्द्रले अनेरास्ववियुका तत्कालीन अध्यक्ष रवीन्द्र अधिकारीलाई सम्बोधन गरेर चिठी पठाए । चिठीमा उल्लेख थियो– प्रवीण गुरुङको हत्याका सम्बन्धमा तपाईंहरूले गराउनुभएको ध्यानाकर्षण भएको छ । हामी दोषीलाई कारबाहीका लागि प्रतिबद्ध छौँ । त्यो चिठी प्राप्त गरेको दिन हामीले ठूलो जितको अनुभूति गर्‍यौँ । त्यतिवेलाको प्रसंग म सधैँ स्मरण गरिरहन्छु ।

अर्को, यातायातका साधनहरूमा विद्यार्थीले ५० प्रतिशतसम्म सहुलियत प्राप्त गर्नुपर्छ भन्ने आन्दोलन गर्‍यौँ । त्यो आन्दोलनको सफलताप्रति आज पनि हामी गर्व गर्छौँ । बस, टेम्पोजस्ता सार्वजनिक यातायात चढ्दा सँगै सिटमा बसेको विद्यार्थीले परिचयपत्र देखाएर सहुलियत भाडा तिरेको देख्दा गौरवको अनुभूति गर्छौँ । अहिले पनि लाखौँ विद्यार्थी त्यो आन्दोलनबाट नियमित लाभान्वित भइरहेकै छन्।

सुस्ता बचाऊ अभियान म अध्यक्ष भएकै वेला गरेको अर्को महत्वपूर्ण आन्दोलन थियो । पाँच हजार ६ सय विद्यार्थीसहित त्यतिवेला हामीले मार्च पास गर्‍यौँ । लक्ष्मणपुर बाँध भत्काउन जाँदा सिमानामा सुरक्षाकर्मीसँग हाम्रो घम्साघम्सी नै भयो । प्रहरीले हामीमाथि लाठीचार्ज गर्‍यो । एक प्रहरीले मेरो कन्चटमै पेस्तोल तेस्र्यायो । ज्यानकै बाजी राखेर राष्ट्रियता जोगाउने कसम खाएको एउटा आन्दोलनकारी सिपाही त्यतिवेला किञ्चित हडबडाएन । अन्ततः साथीहरूको प्रतिवादपछि घम्साघम्सी साम्य भयो ।

विद्यार्थी आन्दोलनबाट बिदा भएपछि पनि मेरै नेतृत्वमा नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा अभियान सञ्चालन भएका छन् । जनआन्दोलनका दमनकारी लोकमानसिंह कार्कीविरुद्धको अभियान, एनसेल कर छली प्रकरणका दोषीलाई कारबाही र कर असुलीका लागि मेरै नेतृत्वमा राष्ट्रिय अभियान सञ्चालन भए । भारतीय नाकाबन्दीविरुद्ध सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय, पुल्चोकसम्म बृहत् मानव हातेसाङ्लो कार्यक्रम सम्पन्न गर्‍यौँ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पहिचान आज नेकपा एमालेको नारा बन्दा त्यतिवेलाका थुप्रै अभियानले सार्थकता पाएकोमा धेरै गौरवको अनुभूति हुने गर्छ ।

अध्यक्ष हुँदा विद्यार्थीकै कोठामा बास
अखिलको अध्यक्ष भएपछि पहिलो केन्द्रीय कमिटी बैठकमा मैले दुई घोषणा गरेँ– ज्यादै जरुरी कामबाहेक म प्लेन चढ्नेछैन । सांगठनिक काममा विद्यार्थीको घर र डेराबाहेक कहिल्यै होटेलमा बास बस्नेछैन । त्यसो त, विद्यार्थी राजनीति गर्ने एउटा कार्यकर्ताका लागि प्लेनमा यात्रा गर्ने कुरा धेरै टाढाको विषय थियो । त्योभन्दा महत्वपूर्ण कुरा म अखिलमा असल संस्कृतिलाई निरन्तरता दिने मात्रै होइन, स्थापित नै गर्न चाहन्थेँ । केन्द्रीय सदस्यहरूसामु त्यतिवेला मैले भनेँ– मलाई तपाईंहरूले जुन जिल्लामा कार्यक्रममा बोलाउनुहुन्छ, त्यसवेला म होटेलमा बस्दिनँ । विद्यार्थीको कोठा र घरबाहेक अन्त बस्ने कुरा मेरा लागि मञ्जुर छैन । त्यो घोषणालाई कार्यकालमा लागू गरेँ । बाध्यताका कारण एकाधबाहेक म कहिल्यै होटेलमा बसिनँ ।

यस सन्दर्भमा एउटा घटना मेरो स्मृतिमा अझै ताजै छ । अध्यक्ष भएको केही समयपछि सांगठनिक कामका लागि काठमाडौंबाट बसमा नेपालगन्ज जाँदै थिएँ । बस बाटैमा बिग्रिँदा राति अबेर गन्तव्यस्थल पुगिने स्थिति बन्यो । लमही पुगेपछि नेपालगन्जमा रहेका साथी रत्न खत्रीलाई सम्पर्क गर्न खोजेँ । ‘बाई द वे’ खल्तीमा एक रुपैयाँ नहुँदा आपत् आइलाग्यो । ओर्लिएर त्यहीँको एकजना रेस्टुरेन्ट व्यवसायीलाई परिचय दिँदै कन्भिन्स गरेँ । रत्नजीलाई फोन गरेर अवस्थाको जानकारी दिएँ र फर्किंदा ती मान्छेलाई फोन खर्च तिरेँ । त्यसो त बस बिग्रिएका कारण त्यस्तो घटना भए पनि तिनताका मसँग खासै पैसा पनि हुन्थेन ।

आम कार्यकर्ता पंक्तिलाई राजनीतिक आवरणमा फजुल खर्च गर्ने, राजनीतिक पद दुरुपयोग गर्दै सुन्दर आलिसान जीवन बिताउने आज जुन संस्कृति विकसित भएको छ, त्यसविरुद्ध हामी थियौँ र छौँ । असल आचरण, संस्कृति, गलत प्रवृत्तिविरुद्ध जुध्नुपर्छ भन्ने जुन स्कुलिङ थियो, हामी त्यतिवेला व्यवहारमै पनि कार्यान्वयन गथ्र्यौँ । तर, आज त्यस्तो संस्कृति स्खलित भइरहेका वेला हिजोको हाम्रो पहलकदमी कति सार्थक थियो भन्ने प्रमाणित हुन्छ ।

स्वतन्त्र रूपमा केन्द्रीय सदस्य बनेँ
अखिलको अध्यक्षबाट बिदा भएपछि पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन मेरा लागि धेरै स्मरणयोग्य छ । महाधिवेशनमा झलनाथ खनाल र केपी ओलीको नेतृत्वमा दुई टिम बन्यो । अधिकांश प्रतिनिधि दुई टिममा विभाजित भएकाले मैले झलनाथ खनालको टिमलाई समर्थन जनाएँ । भर्खरै अध्यक्षबाट बिदा भएर पार्टी केन्द्रीय सदस्य बन्ने आकांक्षा पालेर महाधिवेशनमा सहभागी भइरहँदा मेरा लागि त्यो महाधिवेशन चुनौती र अवसर दुवै थियो ।

दुवै टिमका तर्फबाट मनोनयनका लागि केन्द्रीय सदस्यहरूको लिस्ट तयार भयो, तर मेरो नाम दुवै टिममा राखिएन । झलनाथ खनाललाई भोटिङ गर्ने मानसिकता बनाइरहेको थिएँ, तर टिममै नाम नपरेपछि मेरा लागि त्यो महाधिवेशन निकै ठूलो चुनौतीको पहाडका रूपमा खडा भयो । पार्टी राजनीतिमा अघि बढ्न खुड्किलो चढ्नु नै थियो । त्यसैले कुनै टिममा नपरे पनि स्वतन्त्र हैसियतमै उम्मेदवारी दिने निधोका साथ केन्द्रीय सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरेँ । हामी सघाउँछौँ भन्दै दुवै टिमका धेरै नेता र धेरै प्रतिनिधिले हौसला बढाउँदै मेरो स्वतन्त्र उम्मेदवारीलाई प्रोत्साहन गर्नुभयो ।

म अघि बढेँ र अन्ततः त्यत्रो केन्द्रीय कमिटीमा स्वतन्त्र हैसियतमै राम्रो मतका साथ जित्न सफल भएँ । जितपछि यस्तो पनि सम्भव हुँदो रहेछ भन्नेजस्तो लाग्यो । म धेरै खुसी भएँ, हारजितको लेखाजोखा भइरहँदा धेरै नेता र प्रतिनिधि चकित परे । जबकि नवौँ महाधिवेशनमा मजस्ता टिममा नपर्ने थुप्रै साथीहरूले उम्मेदवारी दिँदा पनि कसैले सफलता प्राप्त गर्नुभएन । दोस्रोपटक म आफैँ माधव नेपाल टिमबाट निर्वाचित भएँ । आठौँ महाधिवेशन मेरो राजनीतिक जीवनकोे ठूलो सफलताको महधिवेशन हो ।

मदन–आश्रितको सालिक बनायौँ
राजनीतिक जीवनका धेरै सुखद–दुःखद अनुभूति छन् । कमरेड मदन भण्डारीको दासढुंगा दुर्घटनाले मलाई धेरै दुःख लाग्यो । पछि, अखिलमा रहँदा हामीले नै मदन र आश्रितको दासढुंगामा सालिक बनायौँ । डेढ महिना मसहितको रेखदेख र खटाइबाट दासढुंगामा दुवै नेताको सालिक निर्माण भएको हो । छैटौँ महाधिवेशनमा पार्टी विभाजनको दुःखद घटना पनि सधैँ स्मरण भइरहन्छ ।

सुःखद अनुभूतिका प्रसंग पनि छन् । राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि हामी सडकमा निस्कियौँ । खिमलाल भट्टराई, मलगायत केही साथीले राजाको कुलगत्तै लगाइएको कफ्र्यु रत्नपार्कमा उल्लंघन गर्दै प्रदर्शन गर्‍यौँ । घोषणाकै दिन सडकमा गणतन्त्रको नारा लगाउँदा हामी असम्भव नाराका पछि कुदेको भन्दै आलोचना नभएको पनि होइन, तर गणतन्त्र स्थापनापछि धेरैले बधाई दिँदा निकै खुसीको अनुभूतिसाथ कफ्र्यु उल्लंघनको दिन स्मरण भयो ।

राजाको घोषणा नर्कादै पहिलै दिन जोखिम मोलेर सडकमा आन्दोलनको नेतृत्व गर्ने मजस्ता आन्दोलनकारीका लागि जनआन्दोलनबाट पुनस्र्थापित संसद्ले गणतन्त्र घोषणा गर्दै गर्दा धेरै ठूलो खुसीको अनुभूति भएको थियो । आज हामी जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयन गर्दै निर्वाचनमार्फत समृद्ध नेपाल निर्माणको योजनामा बढिरहेका छौँ ।

अब लोकतान्त्रिक गणतन्त्रलाई गरिबीको रेखामुनि रहेका, शोषण–उत्पीडनमा परेका, दूरदराजमा रहेका जनताले अनुभूति गर्ने गरी आर्थिक रूपले समृद्ध नेपाल निर्माणमा अघि बढ्ने काममा ढिलाइ गर्नुहुन्न ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७