३५,६११ मत गन्दा रास्वपाका मिलन लिम्बूलाई २,०५७, भन्छन्–सोंचे जस्तो मत आएन


१७ बैशाख २०८१, सोमबार
Rabi Milan 2 1

इलाम । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फेरि मतान्तर बढाएका छन् । अहिलेसम्म ३५ हजार ६११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । नेम्वाङ कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५,३०२ मतले अघि बढेका छन् । यसअघि उनीहरूबीच करिब पाँच हजारको मतान्तर रहेको थियो ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने डम्बरले ९ हजार ३११ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बूले ८, ५७० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २,० ५७ मत ल्याएका छन् । इलाम क्षेत्र नम्बर २ अन्तर्गत भएको निर्वाचनमा रास्वपाले अपेक्षा गरेभन्दा कम मत पाएको छ । ४ वटा पालिकाको मत गणना सक्दा रास्वपा चौथो स्थानमा छ ।

फाकफोकथुम चुलाचुली, माङ्सेवुङ्ग गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिदा रास्वपाले जम्मा २,०५७ मत पाएको छ । यो अपेक्षा गरे भन्दा कम खसेको रास्वपाका उम्मेदवार मिलान लिम्बू स्वीकार गर्छन् । अपेक्षा गरेभन्दा कम मत झर्‍यो उनले भने, ‘हामीले यी क्षेत्रबाट पनि राम्रै मत पाउँछौ भन्ने अपेक्षा गरेका थियौ । तर सोचे जस्तो मत खसेन ।’ उनले बाँकी रहेका २ वटा नगरपालिकामा राम्रो मत आउने अपेक्षा गरे । देउमाई र इलामबाट राम्रै मत खस्छ । उनले भने, ‘जितका लागि पर्याप्त नभए पनि सम्मानजनक मत आउँछ भन्ने अपेक्षा छ ।’

अस्ती शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । एमालेका नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि अहिले उपचुनाव भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७