गाविस अध्यक्ष जितेको २६ वर्षपछि भण्डारी प्रदेश सांसदमा निर्वाचित

५७ वर्षका भण्डारीले चुनावमा उम्मेदवार बनेको र जितेको यो पहिलो पटक हो । जबकी उनी २०४२ सालदेखि राजनीतिमा लागेका नेता हुन् । छबिसपाथिभेरा गाउँपालिका–१ का भण्डारीले काठमाडौस्थित नेपाल ल क्याम्पसबाट राजनीति शुरु गरेका थिए ।


१७ बैशाख २०८१, सोमबार
Daman Bhandari 1024x621 1
चुनाव जितेपछि मतदातालाई धन्यवाद दिँदै दमन भण्डारी । तस्वीर : रासस

बझाङ । बझाङ प्रदेश सभा (१) मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । ११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् ।

अभिषेक गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् । यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८ सय ३१ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ५ सय १४ मत प्राप्त गरेका छन् । ५७ वर्षका भण्डारीले चुनावमा उम्मेदवार बनेको र जितेको यो पहिलो पटक हो । जबकी उनी २०४२ सालदेखि राजनीतिमा लागेका नेता हुन् । छबिसपाथिभेरा गाउँपालिका–१ का भण्डारीले काठमाडौस्थित नेपाल ल क्याम्पसबाट राजनीति शुरु गरेका थिए ।

पढाइ सकेपछि बझाङ फर्किएका भण्डारीले २०५४ सालमै तत्कालीन मटेला गाविसको अध्यक्ष जितेका थिए । कानुनको अध्ययन र एमालेको विद्यार्थी राजनीतिको पृष्ठभूमि हुँदै गाविस अध्यक्ष जितेका भण्डारी २०५५ सालमै एमाले जिल्ला सदस्य बनेका हुन् । त्यसबेला गाबिस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष समेत बने ।

विद्यार्थी, युवा र जिल्लामा पार्टीको राजनीतिमा पनि उनी सक्रिय थिए । युवा संघमा भण्डारी तत्कालिन सेती अञ्चल सचिव समेत बने । तर संसदीय राजनीतिमा उनले अवसर पाएका थिएनन् । भण्डारीले संसदीय राजनीतिमा अहिलेसम्म अवसर नपाउनुमा बझाङमा उनी भन्दा सिनियर नेताहरु धेरै हुनु हो । भानुभक्त जोशी, भैरवबहादुर सिंह, अर्जुनबहादुर थापा, लालबहादुर रावल, मानप्रसाद खत्री, दिलबहादुर सिंह लगायत नेताहरु बझाङमा दमनका अग्रज हुन् । यिनै नेताहरुले २०४८ सालदेखि पालैपालो चुनाव लड्दै आए । सिनियर नेताहरु भएकाले दमन भण्डारीले पार्टीबाट संसदीय राजनीतिको टिकट कहिल्यै पाएका थिएनन् ।

२०७४ सालको चुनावपछि प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत चुनाव हुन थाल्यो । तर दमनले अवसर पाएका थिएनन् । २०७४ मा वाम गठबन्धन भएकाले प्रतिनिधिसभा तर्फ एमालेकै भैरवबहादुर सिंहले टिकट पाउँदा प्रदेशसभाको (१) मा अर्जुनबहादुर थापा र (२) तर्फ माओवादीका देवकी थापाले टिकट पाइन् । दुई प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव यही गठबन्धनले जित्यो । प्रदेशसभा सदस्य जितेका अर्जुन सुदूरपश्चिम प्रदेशसभाको सभामुख बने ।

वाम गठबन्धनपछि एमाले र माओवादीबीच पार्टी नै एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । तर त्यो नेकपाको एकता २०७७ मा भंग भयो भने २०७८ मा एमाले पनि विभाजित भयो । पार्टी विभाजनपछि पुराना र सिनियर नेता भानुभक्त जोशी, जिल्ला अध्यक्ष दिलबहादुर सिंह लगायत नेताहरु एकीकृत समाजवादीतिर लागे । दमन भण्डारी भने १० बुँदे सहमतिअनुसार एमालेमै बसे । २०६९ मा पार्टी सचिव भएकाले एमाले विभाजनपछि २०७८ मा उनी एमाले बझाङको जिल्ला अध्यक्ष बने । तर जिल्ला अध्यक्ष हुँदा पनि २०७९ को आमचुनावमा उनले टिकट पाएनन् । प्रतिनिधिसभातर्फ एमालेमै रहेका सिनियर नेताहरुलाई पन्छाउँदै ऐन महरले टिकट पाउँदा प्रदेशसभाको (१) तर्फ अफिलाल ओखेडा र (२) तर्फ लालबहादुर रावलले टिकट पाए ।

दमन भण्डारीको भूमिका भने २०४८ सालका चुनावहरु जस्तै पार्टीका उम्मेदवार जिताउनेमा सीमित भयो । यद्यपि चुनावी नतिजा एमालेको पक्षमा आएन । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमालेका उम्मेदवार पराजित भए । दमन भण्डारीको क्षेत्र रहेको बझाङ (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर चुनाव जित्दा एमालेका ओखेडाले १३ हजार ३३६ मत मात्र ल्याए । चुनाव जितेपछि पृथ्वीबहादुर सिंह सुदूरपश्चिम सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । तर सडक दुर्घटनामा परी सिंहको निधन भयो, जसकारण उपचुनाव गर्नुपर्‍यो ।

यो उपचुनावमा भने उम्मेदवार सिफारिसमै बझाङ एमालेमा आन्तरिक मतदान भयो । मतदानमा दमन भण्डारीले लोकप्रिय मत ल्याए । उनले ९४ मत पाएर एक नम्बरमा पर्दा अफिलाल ओखेडाले ६०, प्रयागराज जोशीले १३ र गोकुल सिंहले २८ मत पाए । जबकी अफिलाल २०७९ को चुनावमा टिकट पाएर उम्मेदवार थिए ।

महिलातर्फ राधा विष्टले ६१ र जुना जाग्रीले ६८ मत पाएका थिए । सवैभन्दा धेरै मत पाएर पनि आकांक्षी सबैको नाम पार्टी केन्द्रमा पठाइएको थियो । आन्तरिक मतदान गराएर क्रमानुसार आएका नामहरु मध्ये दमन भण्डारीलाई नै पार्टी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसरी आन्तरिक मतदानमार्फत् टिकट लिने विधि अपनाएका भण्डारीले संसदीय चुनावमा पनि कांग्रेसका उम्मेदवारलाई हराउँदै प्रदेशसभा सदस्य जिते ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७