पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक, को–को परे ?


१७ बैशाख २०८१, सोमबार
sport

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ । मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ ।

मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो । यस वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।

यसै गरी वर्ष खेलाडी महिलामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन् । यसैगरी १७ वर्षमुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिण्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।

उनका अनुसार स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिने मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले जनही नगद रु ३५ हजार सहित ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ । मूल आयोजक समितिको सहसंयोजकमा मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । यसैगरी विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजक समेत चयन गरिएको छ । आर्थिक सङ्कलन उपसमितिको संयोजक कविता घर्तीमगर र सह–संयोजक शशीकुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रचारप्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सहसंयोजकमा विजय नेपाल, अन्तर्राष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सहसंयोजकमा सुदर्शन रञ्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सहसंयोजकमा फडिन्द्र अकिञ्चन छन् ।

स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मानबहादुर घर्ती र सहसंयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी उपसमितिको संयोजकमा उमेश पुन र सहसंयोजकमा वसन्त शेर्पा, मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सहसंयोजकमा धनबहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सहसंयोजकमा सुशील छन् ।

यसैगरी सङ्घ संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सहसंयोजकमा कृष्ण दवाडी, मूल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सहसंयोजकमा गणेश बराल (ढाकामोहन), क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सहसंयोजकमा अर्जुन गाहा सुशान्त रहेका छन् ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले सघाएका छन् । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाका रुपमा विसं २०५७ मा मञ्चको स्थापना भएको हो । मञ्चमा हाल ७४ जना खेल पत्रकार आबद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७