डम्बर खड्का बाबु सुवास भन्दा छोरा सुहाङसँग फराकिलो मतान्तरले पराजित


१८ बैशाख २०८१, मंगलवार
suhang dambar

इलाम । इलाम क्षेत्र नम्बर–२ को आज (मंगलबार) आएको उपनिर्वाचनको परिणाम दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई दुःखद संयोग बनेको छ । उनी बाबु र छोरा दुवैसँग चुनाव हार्ने उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । सुवासको निधनपछि भएको उपनिर्वाचनमा अहिले उनी छोरा सुहाङ नेम्वाङसँग फराकिलो मतान्तरमा पराजित हुन पुगेका छन् । मंगलबार बिहान सकिएको मतगणनामा सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए । मतान्तर बढेर ५, ८३० मत पुगेको छ ।

गत भदौमा अकस्मात सुवासको निधन भएपछि गत शनिबार (१५ वैशाख) यहाँ उपनिर्वाचन भएको हो । सो निर्वाचनमा अघिल्लो हारको बदला लिने सुरमा रहेका डम्बर झन् ठूलो मतान्तरले पराजित बन्न पुगेका छन् । ०७९ को निर्वाचनमा बुवा सुवाससँग १ सय १४ मतले हारेका डम्बर डेढ वर्षपछि छोरा सुहाङसँग ५ हजार ८३० मतले पराजित बन्न पुगेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षधर खड्कालाई उम्मेदवार बनाउने कुरामा कांग्रेसमा विवाद भएको थियो । इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले भेषराज आचार्यलाई उम्मेदवार बनाउन चाहेका थिए । तर देउवाको अगाडि उनीहरूको केही जोर चलेन । निर्माण व्यवयायी समेत रहेका खड्का कांग्रेसका इलाम जिल्ला सभापति हुन् । साथै उनी नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष पनि हुन् । उनले ग्रासरुटमै रहेर काम गरेको दाबी गर्दै आएका थिए । तर भारी अन्तरले पराजित हुन पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७