इलाममा जमानत जफतपछि रविको प्रतिक्रिया : जित्न सकिएन, सिक्न सकियो


१८ बैशाख २०८१, मंगलवार
Rabi Lamichhane Milan 2

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम–२ मा भर्खरै सकिएको प्रतिनिधिसभा उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफत भएकोप्रति प्रतिक्रिया दिएका छन् ।

आज (मंगलबार) सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले जित्न नसके पनि सिक्न सकिएको बताएका हुन् । उनले इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै पार्टीका सदस्यलाई आग्रह गरेका छन् । इलाम–२ का मतदाताले आफूहरूलाई मतसँगै ठूलो सन्देश दिएको पनि उनको भनाइ छ ।

लामिछानेले विजयी भएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन् । ‘इलाम–२ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु,’ उनले लेखेका छन्, ‘रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यमा अनुरोध छ ।’

इलाम–२ मा लामिछाने नेतृत्वको दल रास्वपाका उम्मेदवार लिम्बूको जमानत जफत भएको छ । मंगलबार बिहान सकिएको मत गणनाअनुसार सदर मतको १० प्रतिशत मत नल्याएपछि उनको जमानत जफत भएको हो । शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मत मात्रै पाएका छन् । यससँगै उनको धरौटी जफत हुने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७