कोशी साझा नाम हो, विवाद र आन्दोलन आवश्यक छैन : अध्यक्ष ओली

झलनाथ लक्षित ओलीको टिप्पणी–एमाले हराउन बेस्सरी लागेका थिए


१८ बैशाख २०८१, मंगलवार
kp oli ilam 1

इलाम । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम–२ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङको विजय सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी सबैको साझा नाम भएकाले कोही भुलभुलैयामा पर्न नहुने बताए ।

‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । उनले भने, ‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमतीलगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’

ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद दिएका छन् । उनले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि धन्यवाद दिए । उनले थपे, ‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’

उनले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतिर संकेत गर्दै यस्तो बताएका हुन् । झलनाथ इलाममा चुनावी कमाण्डर बनेर पार्टीका उम्मेदवार जितबहादुर राईलाई जिताउन लागेका थिए । तर, राईले ५ सय मत पनि पाएनन् । अध्यक्ष ओलीले खनालप्रति संकेत गर्दै भने, ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए ।’

ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेण्डा नेकपा एमालेसँग मात्रै भएको बताए । उनले भने, ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन । मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेण्डा नेकपा एमालेसँग मात्रै छ ।’ उनले युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको दावी गरे । उनले भने, ‘तपाईंहरूले सुहाङलाई जिताएर पठाउनु भयो । अब इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिन्छु । यो जिल्ला अब सबै हिसाबले अगाडि बढ्यो, बढ्यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७