सहकारीको डेढ करोड ठगीमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी


१९ बैशाख २०८१, बुधबार
gita basnet

काठमाडौं । सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बस्नेतको समूहले यो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।

कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्रबहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । ‘सहकारी ठगी प्रकरण ७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं । अन्य अनुसन्धान पनि अगाडि बढिरहेको छ,’ नवलपुरका एसपी नरहरि रेग्मीले भने ।

सञ्चालक योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत पक्राउ परिसकेको एसपी रेग्मीले जानकारी दिए । प्रहरी कार्यालय कावासोती र वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी उनका ज्वाई नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथीमार्फत् रकम निकासी गरेको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७