साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय


२० बैशाख २०८१, बिहीबार
Saudi Arabia

काठमाडौँ । साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन् । अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ । यसको विरोधमा मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले साउदी अरबलाई उक्त महिलालाई सजायबाट मुक्त गर्न आग्रह गरेका छन् ।

मानाहेल अल–ओतैबीलाई जनवरीमा सजाय सुनाइएको थियो । यसैबीच साउदी अरेबियाले भने संयुक्त राष्ट्र मानव अधिकार कार्यालयलाई आफ्नो औपचारिक प्रतिक्रियामा अल–ओतैबीलाई सामाजिक सञ्जाल पोस्टको लागि सजाय दिइएको अस्वीकार गरेको छ । यसले उसलाई आतंकवादी अपराधको लागि दोषी ठहराएको र उसको विचार र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास वा उसको सामाजिक सञ्जाल पोस्टहरूसँग कुनै सरोकार नभएको बताएको छ ।

संयुक्त राष्ट्र संघले फिटनेस प्रशिक्षकलाई दोष दिएकोमा साउदी अरेबियाको आलोचना गरेको बताइएको छ । एम्नेस्टीका अनुसार अल–ओतैबीकी बहिनी फौजियामाथि पनि यस्तै आरोप छ, तर २०२२ मा सोधपुछका लागि बोलाएपछि उनी साउदी अरेबियाबाट भागेकी थिइन् ।

एम्नेस्टी अभियानकर्ताहरुले हालैका वर्षहरूमा साउदीको योजनाबद्ध महिला अधिकार सुधारहरूको खोक्रोपनलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् । साउदी अरब एक कट्टर इस्लामिक देश हो, जुन पहिले वहाबी विचारधाराको सबैभन्दा ठूलो समर्थक थियो । तर सन् २०१७ मा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले महिलाको हैसियतमा परिवर्तन ल्याउने वाचा गरेका छन् र कैयौं क्षेत्रमा सुधार पनि गरेका छन् । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७