नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट तीन जना पक्राउ


२० बैशाख २०८१, बिहीबार
bank

वीरगञ्ज । वीरगञ्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरिएको लाखौं रुपैयाँसहित भारत बिहार मोतीहारी जिल्लामा तीन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरणसहित एक महिला र दुई पुरुष गरी तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन् । उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ, एक थान घरेलु हतियार नलकटुवा, दुई थान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुई थान थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए ।

केही दिनअघि भारतीय बजार ढाकामा दुई वटा पसलमा लुटेको सामानमध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ । साथै पक्राउ परेकाहरूले नबील बैंक बीरगञ्ज शाखाको लुटमा संलग्न रहेको र केही दिनअघि एक जना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एसपी मिश्रले बताएका छन् ।

पक्राउ परेका तीनै जना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ । पक्राउ परेपछि एक जना बीरगञ्जका नेपाली सुरक्षा अधिकारीलाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एसपी मिश्रले जानकारी दिएका छन् ।

नबिल बैंक बीरगञ्जमा चोरीको घटनापछि अपराधीहरु भारतीय क्षेत्रमा आउनसक्ने अनुमानको आधारमा एसपी मिश्रले तीन जना डिएसपीको कमाण्डमा छुट्टाछुट्टै तीन वटा टोली परिचालन गरेको मोतीहारी क्राइम ब्राञ्चका सई मनिष कुमारले बताएका छन् । टोलीले विशेष सूचनाको आधारमा दरपा थानाक्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर मन्टु र अर्जुन पक्राउ गरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो ।

उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले ९५ हजार रुपैयाँ र हतियारसहित सवितालाई पक्राउ गर्न सफल भएको सई मनिष कुमारले जनाएका छन् । बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत आइतबार राति ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको ताल्चा फुटाएर एक सय र २० रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी लागेको पर्सा प्रहरीले जनाएको छ । चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ । पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७