५३ जिल्लाका ४३६ स्थानमा डढेलो

सर्लाहीको बाराउद्योरण गाउँका ६५ बढी घर जले


२० बैशाख २०८१, बिहीबार
Dadhelo gulmi kaule forest scaled

काठमाडौँ । देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका ४३६ स्थानमा वन डढेलो लागिरहेको छ ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । ‘आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ’, उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।’ उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् ।

‘८० प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ’, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।

सर्लाहीको बाराउद्योरण गाउँका ६५ बढी घर जले
सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए ।

दिउँसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताए । ‘‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो’, उनले भने ।

स्थानीय विनय सिंहले एउटा घरमा लोगेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए । नगर प्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताए । उनले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपया समेत जलेका र क्षतिको विवरण आइनसकेको बताए । त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७