एनआइसी एशिया बैंकले हस्तान्तरण गर्‍यो विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन


२४ बैशाख २०८१, सोमबार
BANK LOGO WITH RED TAG

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ।

विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरू निर्माण गरेको हो।

बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहा जिल्लास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु जिल्लास्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरुलाई उक्त पुस्तकालय हस्तान्तरण गरिसकेको छ।

त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका–४ मा अवस्थित पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरू निर्माण कार्य भइरहेको, साथै, बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रकृया अगाडि बढिसकेको छ।

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।

यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७