वार्षिकोत्सवको अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ घोषणा


२५ बैशाख २०८१, मंगलवार
1 3

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँस्थित सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । गीत–संगीत क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा आयोजित एक कार्यक्रमबीच सो पुरस्कार घोषणा गरिएको हो ।

2 3

सरु संगीत घरका संस्थापक एवम प्रवन्ध निर्देशक डेनी निरौलाका अनुसार पुरस्कार गीत संगीत तथा नृत्यका क्षेत्रमा योगदान पुर्‍याउने एक विशिष्ट साधकलाई आउँदो वर्ष २०८२ देखि हरेक बर्ष प्रदान गरिनेछ । ‘स्व. सरस्वती निरौलाको स्मृतिमा उनका श्रीमान संगीतकार कोमल निरौला, श्रीमती इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला तथा श्रीमती सविता निरौला, संगीतकार भिषण निरौला तथा श्रीमती सविता अधिकारी, छोरी गायिका झुमा निरौला तथा श्रीमान सविन भट्टराईको संयुक्त प्रयासमा पुरस्कार स्थापना गरिएको हो,’ संगीत घरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

3 2

पुरस्कारको राशी २५ हजार रुपैंयाँ रहेको छ भने पुरस्कारका लागि तीन लाख रुपैंयाँको अक्षयकोष स्थापना गरिएको प्रवन्ध निर्देशक निरौलाले जानकारी दिए । पुरस्कृत व्यक्तित्व छनोटका लागि एक स्वतन्त्र व्यक्तिहरुको समिति गठन गरिने छ । पुरस्कार संगीत घरको बार्षिकोत्सवको अवसरमा साउन महिनामा वितरण गरिने निरौलाले बताए । पुरस्कारका लागि ४० बर्ष उमेर पुगेका र देश–विदेशमा बसेर गीत–संगीत र नृत्यका क्षेत्रमा योगदान पुर्‍याएको प्रतिभा हुनुपर्नेछ ।

२०७७ सालमा स्थापना भएको संगीत घरको शनिबार आयोजित समारोहमा गायक शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, पूर्व न्यायाधीश जीवनहरि अधिकारी, साहित्यकार रत्नमणि नेपाल, गीतकार राम भट्टराई, ललितपुर जिल्ला प्याव्सन बरिष्ठ उपाध्यक्ष तारा खनाल, महालक्ष्मी वडा नम्बर– ५ का वडाध्यक्ष कपिल केसी, नेपाली कांग्रेस महालक्ष्मी–५ इकाइ सभापति सूर्य बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

4

समारोहमा संगीत घरका विद्यार्थीहरुबाट ३३ वटा गीत र चार वटा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमका गायिका कुन्ती मोक्तानले आमाको नाममा स्थापना गरिएको संगीत घरको प्रशंसा गरिन् । महालक्ष्मी ५ नम्बर वडाका वडाध्यक्ष केसीले आफ्नै वडामा संगीत विद्यालय खोलेर संगीतका विभिन्न क्रियाकलाप गरेकोमा खुशी ब्यस्त गर्दै आफ्नो तर्फबाट हरहमेसा सहयोग रहने बचन दिए । प्रवन्ध निर्देशक निरौलाले समय सापेक्ष संगीत सिकाउँदै जाने र स्थानीय संगीतलाई पनि नयाँपुस्तामा पुर्‍याउँदै जाने प्रतिबद्धता व्यक्त गरे । संगीत घरमा हाल ७२ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७