कन्चटमा पेस्तोल तेर्साउँदै ५ करोडको घर ४० लाखमा हडप्ने श्रेष्ठको सम्पत्ति छानबिन होला ?

मिटर ब्याजमा लगानी गर्ने वीरेन्द्रलाल श्रेष्ठ र बलराम सापकोटाका हतियार प्रहरी नियन्त्रणमा


२७ जेष्ठ २०७५, आईतवार
birendra

काठमाडौं, २७ जेठ । मिटर ब्याजमा पैसा लगानी गर्ने र कन्चटमा गोली तेस्र्याउँदै पैसा असुली गर्ने वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा बले, काजी शेर्पा भन्ने आङकाजी शेर्पा र रघुनाथ पुरीका हातहतियार प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रलाल श्रेष्ठले त मिटर ब्याजमा पैसा लगाउने र नदिए ३ करोडको सम्पत्ति ४० लाखमा हतियारको बलमा कब्जा गर्दैआएका थिए । उनले काठमाडौं उपत्यकाका ४० वटा घर कौडीको मूल्यमा हतियारकै बलमा कब्जा गरेको प्रहरी स्रोत बताउँछ । उनीसँग ४० लाख ऋण लिएकामध्ये एक पीडितको सिफलको ५ करोड मूल्यको घर वीरेन्द्रलालले कन्चटमा पेस्तोल देखाएर कब्जा गरेका थिए । सिफलको घर उदाहरण हो, वीरेन्द्रलालले त्यस्ता धेरै घरहरु कौडीको मूल्यमा कब्जा गरी १० बर्षको बीचमा पचासौं करोड आर्जन गरेका छन् । उनको सम्पत्ति समेत छानबिन हुनुपर्ने माग पीडितहरुको छ ।

birendra
वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा बले, आङकाजी शेर्पा ।

नेपाल प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमिल्सिना, पूर्व एसपी ढकबहादुर कार्कीहरुको संरक्षणमा उनले मिटर ब्याजमा पैसा लगानी गरेका थिए । वीरेन्द्रलालले सुरुमा क्यासिनोमा हार्नेहरुलाई पैसा लगानी गर्दै मिटर ब्याजको धन्दामा हात हालेका थिए । बलराम सापकोटाले वीरेन्द्रलालको कमाइ देखेर मिटर ब्याजमा लगानी गर्न थालेका हुन् । प्रहरीका हाकिमहरुको पैसा लिएर उनीहरुले मिटर ब्याजमा लगानी गर्दैआएका थिए । प्रहरीको पैसा लगानी गरेपछि उठाउन सजिलो हुने र हतियार लिएर हिडे पनि कुनै कारबाही नहुने भएकाले पनि वीरेन्दलाल र बलेले यो धन्दा गर्दैआएका थिए । आङकाजी शेर्पाले भने ठेक्कापट्टा हत्याउन हतियारको प्रयोग गर्दैआएका थिए । अपराध अनुसन्धान महाशाखाले समाजमा त्रास फैलाउने, जनताको सम्पत्ति कौडीको मूल्यमा हडप्नेहरुका हतियार नियन्त्रणमा लिएर सराहनीय काम गरेको छ ।

hatiyar
अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएका हतियार ।

अपराध महाशााखाले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ–विभिन्न मितिमा हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा १० बमोजिमको सर्तमा रही हतियार राख्न इजाजत प्रदान गरिएका श्रेष्ठ, सापकोटा, शेर्पा र पुरीले ऐनको दफा बमोजिमका सर्तहरु उल्लघन गरी सर्वसाधारण मानिसलाई त्रास उत्पन्न गराउने, हतियार देखाई ठेक्का कब्जा गर्ने, अनावश्यक रुपमा हतियार सवारी साधनमा राखी त्रास उत्पन्न गराउने गैरकानुनी रुपमा चर्को ब्याजमा पैसा लगानी गर्ने र उक्त रकम उठाउन हतियार प्रदर्शन गर्ने गर्दैआएको पाइयो । श्रेष्ठ, सापकोटाहरुउपर ठगी, अपहरण, शरीर बन्धक, केही सार्वजनिक अपराध आदि मुद्दामा अनुसन्धान भइसकेको अवस्थामा उनीहरुसँग भएको हतियारद्वारा सार्वजनिक शान्ति सुरक्षामा खतरा हुनसक्ने एवं कुनै पनि बेला जघन्य अपराध हुनसक्ने ठहर अपराध अनुसन्धान महाशाखााले गरी ऐन बमोजिम काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट उनीहरुलाई प्रदान गरिएको हातहतियार इजाजतपत्र रद्द गरी उक्त हतियार नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७