गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासकाे मतविरूद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


२७ बैशाख २०८१, बिहीबार
khagaraj adhikari

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

गएको आइतबार प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी घोषणा गरेका थिए । संविधानको धारा १८८ (३) अनुसार सरकार रहन लागि ३१ सांसदको विश्वासको मत आवश्यक पर्छ । तर, सभामुख धितालले आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

रिटमा सभामुख धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ । मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए। त्यस दिन प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए । मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने विपक्षमा २७ र राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । सर्वोच्च अदालतले नै ६० सदस्यीय प्रदेश सभाको बहुमत ३० हुने ब्याख्यालाई आधार मानेर गण्डकी सभामुख धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७