कोशीका मुख्यमन्त्री कार्की सर्वोच्चमा रिट दायर गर्न काठमाडौंमा


२७ बैशाख २०८१, बिहीबार
kedar karki 1

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आहवान भएसँगै प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् । प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएपछि आज बिहानै मुख्यमन्त्री कार्की काठमाडौं लागेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले गरेको सरकार गठनको आह्वान संविधानसम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । नयाँ सरकारको लागि आह्वान गर्नु संविधानविपरीत भएको उनले जिकिर गर्दै आएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले बुधबार अपराह्न संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरिसकेका छन् । एमाले र माओवादी हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन १० बजे दाबी पेश गर्ने तयारीमा छन् । प्रदेश प्रमुख खापुङले भने आजै नयाँ सरकार गठन गरेर शपथ गराउने तयारी गरेका छन् । उनले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेर आजै शपथ गराउने तयारी गरेका हुन् ।

बिहान १० बजे एमाले माओवादीले दाबी पेश गर्दै छन् । साँझ ५ बजेलाई शपथ ग्रहणको कार्यक्रम तय भएको स्रोतले बताएको छ । माओवादी र एमालेका १÷१ जनालाई सरकारमा सहभागी गराउने सहमति भएको एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिएका छन् । ‘आजै सानो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ,’ उनले थपे, ‘मुख्यमन्त्रीसहित दुई मन्त्रीले आजै शपथ लिनुहुन्छ ।’

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले निर्देशन गरेको थियो । तर उनले विश्वासको मत लिन अटेर गरेका थिए । सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७