कोशीमा आजै नयाँ सरकार, हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्दै


२७ बैशाख २०८१, बिहीबार
hikmat karki 1
फाइल फोटो

मोरङ । कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा आज (बिहीबार) नयाँ सरकार गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिएका छन् ।

एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले जानकारी दिए । ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ । उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ ।

आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक–एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताएका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने अझै केदार कार्की नेतृत्वको सरकारमै सहभागी छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

एमाले र माओवादी केन्द्रले सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको छ । केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् । यसविरुद्ध नेपाली कांग्रेसले भने अदालत जाने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७