सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई ‘सम्मान र प्रेम’ का साथ स्वागत


२७ बैशाख २०८१, बिहीबार
Sarbia Xi jin Ping

बेलग्रेड । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले २०८१ वैशाख २६ गते बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष्ट्रहरूसँग राजनीतिक र आर्थिक सम्बन्धलाई गहिरो बनाउन खोजिरहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गरेका छन् ।

चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सी र उनकी श्रीमती पेङ लियुआनलाई बुधबार बेलग्रेडमा मुख्य सरकारी कार्यालयहरू बाहिर रातो कार्पेटमा भुकिकले स्वागत गरे । प्रधानमन्त्री र नेसनल बैंक अफ सर्बियाका गभर्नरसहित अधिकारीहरूसँग हात मिलाउनुअघि चिनियाँ नेतालाई तोपको सलामी र चिनियाँ राष्ट्रगानले स्वागत गरिएको थियो ।

दुवै नेताले बालकनीबाट बाहिर प्रतीक्षा गरिरहेका हजारौँ मानिसतर्फ हात हल्लाए । तीमध्ये केहीले चिनियाँ झण्डा फहराइरहेका थिए । भुकिकले सीलाई ‘सर्बियाको मित्र’ भने । ‘सर्बियामा जस्तो सम्मान र प्रेम उहाँले अन्य कहीँ पाउनु हुन्न’, उनले भने, ‘चिनियाँ क्षेत्रीय अखण्डताका सम्बन्धमा हाम्रो अडान स्पष्ट र सरल छ, ताइवान चीनको हो ।’

बेइजिङले स्वशासित ताइवानमाथि आफ्नो दाबी गर्दै ताइवानलाई चिनियाँ नियन्त्रणमा ल्याउन बल प्रयोगलाई अस्वीकार नगर्ने बताएको छ । दुई नेता बैठकमा बस्ता सीले प्रारम्भिक टिप्पणीमा भुकिकसँग भने, ‘हाम्रो दुवै मुलुकबीचको मित्रताको भावना बलियो थियो ।’

चिनियाँ राष्ट्रपति सी फ्रान्सको राजकीय भ्रमणपछि मङ्गलबार साँझ बेलग्रेड पुगेका हुन् । फ्रान्समा युक्रेन युद्धका बाबजुद व्यापार र चीनको रुससँग घनिष्ठ सम्बन्धलाई लिएर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग सीको मजबुत आदानप्रदान भएको थियो ।
सन् २०१९ पछि सीको युरोपको पहिलो भ्रमणका लागि छनोट भएका अन्य दुई मुलुकमा सर्बियापछि अर्को हङ्गेरी रहेको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७