फेरि फुट्यो उपेन्द्र यादव नेतृत्वको जसपा : पहिचानवादी मोर्चा घोषणा


२७ बैशाख २०८१, बिहीबार
jasapa pahichanbadi

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । योसँगै जसपा तीन टुक्रा भएको छ । जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा एकत्रित्र गरेका थिए । गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सात प्रतिनिधि सभा सदस्य छुट्टिएर जनता समाजवादी गठन भएको थियो । गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो ।

पार्टी विभाजनबाट असन्तुष्ट लावतीलगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका हुन् । सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्ष समेत उनीहरूको छ । आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ ।

उनीहरूले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलगिएर पहिचानवादी मोर्चा घोषणा गरिएको बताएका छन् । पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउने प्रयास गरिने मोर्चाले बताएको छ ।

जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरुको कुनै हात नरहेको बताएका छन् । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए । पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए ।

नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ । जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरु पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७