प्रचण्ड–ओलीले जसपा फुटाई दिएको आरोपमा अशोक राईको स्पष्टीकरण : कुनै लेनदेन छैन

‘उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनाएको हो’


२७ बैशाख २०८१, बिहीबार
Ashok Rai Jasapa

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट अलग भएको जनता समाजवादी पार्टीले पहिलो पत्रकार सम्मेलन गरेको छ । आज (बिहीबार) पहिलो पत्रकार सम्मेलन गर्दै नयाँ पार्टीका अध्यक्ष अशोक राईले लेनदेनका आधारमा पार्टी विभाजन गरिएको हल्ला आधारहीन भएको दाबी गरेका छन् ।

अध्यक्ष राईले यादव पार्टीमा आफूखुशी गर्दै आएको, स्वेच्छाचारिता हावी भएको र पारदर्शी नभएको आरोप लगाएका छन् । उनले भने, ‘आन्तरिक विमति, विवादका कारण अलग भएका हौँ । पार्टीमा स्वेच्छाचारिता हावी थियो । सँगै बस्न सक्ने अवस्था रहेन । अब सबैलाई समेटेर लैजान हामी तयार छौं । पार्टीलाई सीमित गर्न अलग भएका होइनौं । सबै जातजाति, लिङ्ग, भौगोलिक क्षेत्रमा पार्टीलाई लैजान्छौं । विचार मिल्ने सबैलाई समेट्छौं । स्वतन्त्र बसेका व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आग्रह गर्छौ ।’

‘उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनाएको हो’
जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादवले अल्पमतको निर्णयलाई पार्टीमा सर्कुलर गरेपछि आफूहरुले विद्रोह गरेको बताएका छन् । उनले उपेन्द्र यादवको कार्यशैलीका कारणले अलग भएको बताएका छन् । उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नु भएको छ । त्यसको नमुना त्यो पनि हो । त्यो परिपत्रले विष्फोटक स्थिति बनायो ।’

उनले सत्ताको अंक गणितको कारणले आफूहरुले पार्टी विभाजन नगरेको प्रष्ट पारे । उनले भने, ‘सत्ताको अंकगणित मिलेकै थियो, त्यो फेर्ने प्रयास भइरहेको कुरा आएको थियो, त्यो संवेदनशिल थियो । यो पार्टी बनेपछि हामीले अस्थिरताका कारक हुँदैनौं भनिसकेका छौं । मुलुक अहिले अस्थिरताको सिकार हुँदै आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७