वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर


२८ बैशाख २०८१, शुक्रबार
kunjok lama

काठमाडौं । वन्यजन्तु तस्करमा दोषी ठहर भएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।

तामाङले सात करोड १४ लाख ७३ हजार ३८२ रुपैयाँ खर्च गरेको देखिए पनि ६ करोड ४७ लाख ७ हजार ९९४ रुपैयाँको मात्रै वैध स्रोत खुलेको छ । उनले ६७ लाख ६५ हजार ३८८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको विशेषको ठहर हो । तामाङलाई सजाय तोक्नका लागि वैशाख २७ गतेको पेसी तोकिएको छ ।

यसअघि जिल्ला अदालत रसुवाले उनलाई वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको थियो । १६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । तामाङ सो घटनाका मुख्य अभियुक्त थिए । मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तुको तस्करी गर्दै आएका थिए ।

रसुवामा सेनाले बरामद गरेको सो घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो । वन्यजन्तुको अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए । तामाङ नेपालमा मात्रै होइन, भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न भएसँगै मुद्दा चलेपछि फरारको सूचीमा छन् । वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७