एमालेको बाटो हेर्दै मुख्यमन्त्री सोडारी : तीन हप्तासम्म न विश्वासको मत, नत सरकार विस्तार


२८ बैशाख २०८१, शुक्रबार
sodari

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएको तीन सातासम्म बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार अन्योलमा परेको छ । नेकपा एमाले विश्वासको मत दिन तयार नहुँदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सदनबाट विश्वासको मत लिन सकेका छैनन् । जसका कारण सरकार विस्तारको प्रक्रिया रोकिएको छ । विश्वासको मत लिने प्रयोजनका लागि यसअघि आह्वान भएका तीन वटा बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए । त्यसका लागि अपराह्न साढे ५ बजे प्रदेश सभा बैठक पनि आह्वान गरिएको थियो, तर एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि बैठक २१ गतेलाई सारियो । मुख्यमन्त्रीले छलफल विनै विश्वासको मत लिन लागेको भन्दै एमालेले मत नदिने अडान लिएपछि विश्वासको मतकै लागि २१ र २२ वैशाखमा डाकिएका प्रदेश सभाका बैठक पनि बस्न सकेनन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने अर्को मिति तय नभएपछि प्रदेश सभा बैठक अहिले अनिश्चित बनेको छ । विश्वासको मत लिने कार्य धकेलिएसँगै सरकार विस्तारमा पनि ढिलाइ भएको छ । माओवादी संसदीय दलका उपनेता अक्कल रावल मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे गठबन्धनमा अनौपचारिक छलफल भइरहे पनि मिति भने तय भइनसकेको बताउँछन् । विश्वासको मत र सरकार विस्तारबारे केन्द्रमै सत्तागठबन्धनको शीर्ष तहमा समेत छलफल भइरहेको उनले जानकारी दिएका छन् ।

‘हाम्रो पार्टी विश्वासको मत दिन तयारै छ, एमालेले केही दिन रोकौँ भनेपछि ढिलाइ भएको हो,’ रावल भन्छन्, ‘विश्वासको मत लिनेबारे केन्द्रमा पनि छलफल भइरहेको छ ।’ मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बन्दै गएको उनले दाबी गरे ।
एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा गत ६ वैशाखमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

आगामी ५ जेठसम्म उनले प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्नेछ । गत १८ वैशाखमा बसेको बैठकले गठबन्धनको बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । बैठकमा एमालेबाट प्रमुख सचेतक पाल सहभागी थिए ।
विश्वासको मतका कारण मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने एमाले, माओवादीको तयारी छ ।

सरकारमा अहिले नागरिक उन्मुक्तिबाट मात्र दुई जना मन्त्री छन् । अहिले नै विश्वासको मत लिएर सरकार विस्तार गर्ने योजनामा रहेका मुख्यमन्त्री सोडारीले अब अर्को महिना विश्वासको मत लिने बताइएको छ । एकीकृत समाजवादीको संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन समस्या नरहेको बताए । ‘मुख्यमन्त्रीमा समर्थन गरेका सबै दलले मत दिन्छौँ भनेका छन्, केन्द्रमा पनि शीर्ष तहमा कुराकानी भइरहेकै छ,’ रावलले भने, ‘पार्टीहरूले आन्तरिक छलफल गर्नुपर्ने भएकाले पनि केही ढिलाइ भएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७