काभ्रेमा तारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा भेटियो युवकको शव


२८ बैशाख २०८१, शुक्रबार
latest News nayapage1 scaled

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–४ मा तारले रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव भेटिएको छ । काभ्रे वडा नम्बर–४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको हो ।

शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठले बताएका छन् । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ । युवकलाई मुख र छात्तीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको जस्तो देखिने डीएसपी श्रेष्ठले जानकारी दिए ।

‘हामी अहिले घटनास्थलमा जाँदैछौँ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले भने, ‘इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली बिहानै त्यहाँ पुगेको थियो । गम्भीर प्रकृतिको घटना भएकाले म पनि घटनास्थलतिर जाँदैछु । घटना अनुसन्धानको लागि कुकुर पनि लगिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७