कांग्रेस रणनीति : शीर्ष नेतालाई बोल्न दिने, छानविन समिति बनाउन तयार नभए अवराेध

दलगत रूपमा रामहरि बोल्ने, रविलाई गगनले ‘काउन्टर’ दिने


२८ बैशाख २०८१, शुक्रबार
Gagan thpaand rabi Lamichhane
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ । प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको छ ।

कांग्रेसका एक सांसदका अनुसार दलीय रूपमा बोल्दा कांग्रेसको तर्फबाट रामहरि खतिवडा बोल्ने छन् । त्यसपछि दलीय रूपमा लामिछानेलाई पनि बोल्न दिने रणनीति कांग्रेसले बनाएको छ । तर, लामिछानेले बोलेको सुनेपछि कांग्रेसले ‘ढ्याप–ढ्याप’ पार्ने भएको छ । त्यसपछि महामन्त्री गगन थापाले रवि लामिछानेलाई जवाफ फर्काउने रणनीति तय गरिएको ती सांसदले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारीको रकम घोटालाको छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेको छ । समिति बनाउन तयार नभए संसद चल्न नदिने कांग्रेसको रणनीति छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनु पर्ने आफ्नो माग यथावत रहेको जानकारी दिएका छन् । अन्य प्रमाणले पनि कांग्रेसको माग सही छ भन्ने देखाएको उनको भनाइ छ ।

कांग्रेसले आज (शुक्रबार) को प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ । सुरुमा शीर्ष नेताले बोलेर सकिएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेबारे छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्ने भएको हो । कांग्रेस नेता रमेश लेखकका अनुसार शुक्रबार बसेको संसदीय दलले सुरुमा बैठक चल्न दिने भए पनि शीर्ष नेताले बोलेपछि लामिछानेमाथि छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पार्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बैठकको सुरुमै कांग्रेसले ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७