वीरगञ्जका पूर्व मेयर विजय सरावगीले छाडे एमाले


२८ बैशाख २०८१, शुक्रबार
bijaya sarabagi

काठमाडौँ । वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै सरावगीले एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

सक्रिय राजनीतिमा हैसियत अनुसारको भूमिका नपाएकाले राजीनामा दिएको उनले बताएका छन् । राजनीतिमा सक्रिया भन्दा पनि निष्क्रिय बनाउने काम भएको उनले पत्रमा उल्लेख गरेका छन् । तत्काल अन्य कुनै दलमा जाने योजना नरहेको सरावगीले बताएका छन् । करिब ८ महिना अघिदेखि नै आफूले एमाले छाड्न चाहेको उनले बताए । ‘पार्टीले हाम्रो क्षमतालाई प्रयोग गर्न सकेन । म त वीरगञ्जको मेयर पनि भइसकेको व्यक्ति हुँ । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएको हुँ । हाम्रो कार्य अनुभवलाई पार्टीले चिन्न सकेन ।’

राजनीतिभन्दा उद्योग-व्यवसायमै आफू सक्रिय हुने पनि उनले बताए । ‘हामी जस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न,’ उनले भने । २०७८ फागुनमा वीरगञ्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए । सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७