सहकारी ठगी गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकायको दुरुपयोग गर्‍यो : कांग्रेस


२८ बैशाख २०८१, शुक्रबार
Nepali congress

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सहकारीको अरबौं रुपैयाँ ठगी गर्नेलाई कारबाही गर्नुपर्नेमा सरकारले उल्टै संवैधानिक निकायलाई दुरुपयोग गरेको आरोप लगाएको छ ।

आज (शुक्रबार) बानेश्वरस्थित संसद् भवन परिसरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘सहकारीको अरबौं रकम अपचलनका विषयमा विपक्षले कुरा उठाउँदा सरकार गैरजिम्मेवार भयो । असमयमा अकारण संसद अन्त्य गरेर सरकार भाग्यो । सरकारको गैरजिम्मेवारपना र असम्वेदनशीलताको हामी विरोध गर्छौ । सरकारलाई संवेदनशील हुन माग गछौं’ बैठकपछि लेखकले भने ।

लेखकले भने, ‘यस बीचमा सहकारी अपचलनको छानबिन गर्ने, गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने हो । तर हिनामिना भएको रकम फिर्ता गर्ने होइन संवैधानिक निकायलाई अनुसन्धानमा अवरोध गर्न सरकार नै लाग्यो । छानबिनको आधारमा अदालतमा मुद्दा अभियोजन गर्नुपर्ने हो । तर सरकारले राजनीतिक अभीष्ट पूरा गर्न, सहकारी ठगी गर्नेलाई जोगाउन संवैधानिक निकायलाई दुरुपयोग गरेको छ ।’

महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि अनुसन्धान अगाडि नबढेको पत्र दिएको विषयलाई कांग्रेसले विरोध गरेको हो । उनले यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । ‘संवैधानिक निकाय समेतको दुरुपयोग गरेको छ, हाम्रो बैठकले यो कामको निन्दा गरेको छ,’ उनले भने । बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको हिनामिनामा संलग्न भएको पर्याप्त प्रमाण देखिइसकेको पनि दाबी गरे ।

‘उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछानेजीको समेत संलग्नता भएको पनि तमाम पर्याप्त तथ्य र प्रमाण देखिइसकेका छन्,’ लेखकले भने, ‘माननीयजीको पनि संलग्नता देखिएको हुनाले यो छानबिन स्वतन्त्र होस् भन्ने सुनिश्चितताका लागि हामीले संसदीय समिति माग गरेका थियौँ । अहिले पछिल्लो समय देखिएका तथ्यले जुन समितिको माग गरेका थियौँ, त्यो पुनः पुष्टि भएको छ ।’ हामीले सहकारीको विषयमा प्रमुख विपक्षी दल लगायत दलले पटक–पटक कुरा उठाउँदा पनि सरकार संवेदनशील हुन नसकेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७