छानबिन समिति गठन भए कांग्रेसले तत्काल गृहमन्त्रीको राजीनामा माग्छ : ओली

‘यो समीकरण भत्काउने प्रयास असफल पार्न जसपा विभाजन’


२८ बैशाख २०८१, शुक्रबार
kp oli 2

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाट बाहिरिनु पर्दा नेपाली कांग्रेस रन्थनिएको आरोप लगाएका छन् । त्यही कारण कांग्रेसले गृहमन्त्री रवि लमिछानेविरुद्ध सहकारी प्रकरण उठाइरहेको उनले दाबी गरे ।

आज (शुक्रबार) बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रश्न उठाउने तर जवाफ दिन नदिने कांग्रेसको व्यवहारले जग हँसाइ रहेको टिप्पणी गरे । उनले भने, ‘प्रश्न उठाउने बोल्न नदिने कस्तो लोकतन्त्र हो ? सरकारमा बस्न नपाएको कुण्ठा हो कि ?’ ओलीले अघिल्लो संसद अधिवेशन अवरोध गरेको कांग्रेसले आज के गर्छ हेर्न बाँकी रहेको बताएका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसले अत्यन्त रन्थनियो, के गर्ने के नगर्ने, प्रधानमन्त्री बनिदेउ भनेर यहाँ पनि पुगेको छ, उता पनि पुगेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेसको माग प्रतिशोध र स्वार्थ केन्द्रित रहेको बताए । उनले कांग्रेसले छानबिन समितिको माग गरेर छुद्र राजनीतिक टिप्पणी गरेका छन् ।

ओलीले गृहमन्त्रीलाई राजीनामा गराउनका लागि कांग्रेसले सहकारी प्रकरण उचालेको सबैले बुझेको बताएका छन् । ‘पहिले छानबिन समिति गठन गर्न माग गर्ने, समिति गठन भएपछि झण्डा हल्लाएर हिंड्न मिल्छ ? राजीनामा दिनुपर्छ स्वार्थ बाझिन्छ भन्ने होला’, ओलीले थपे, ‘एकातिर डेढ वर्ष प्रधानमन्त्री खानुहोस् भन्ने, अर्कोतिर रिसर्च गरेर हिँड्ने ।’

‘यो समीकरण भत्काउने प्रयास असफल पार्न जसपा विभाजन’
एमालेका अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयास निरन्तर भइरहेको दाबी गरेका छन् । उनले अहिले पनि राजनीतिक अस्थिर रहेको बताएका छन् ।

उनले भने, ‘राजनीति अस्थिर छ । पोहोरझैं दुई महिनामा सरकार उल्ट्याउने खेल भइरहेको छ उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘१० सिट भएको पार्टी राष्ट्रिय पार्टी होइन । त्यस पार्टीको प्रतिनिधिले विश्वासको मत दिने बेलामा भएको छलफलमा म सम्झिरहेको छु । आक्रोशित र कुण्ठाग्रस्त थियो । त्यही कुरा यस बीचमा म प्रधानमन्त्री हुँदैछ भनेर कसैलाई भतभत पोलेको छ भने, कहाँ प्रधानमन्त्री हुन आँटेका हुन् ? त्यसैले अस्थिरता ल्याउने कोशिस लगातार भइरहेको छ ।

उनले अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नका लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको दावी गरे । उनले भने, ‘अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नका लागि एउटा पार्टी विभाजन भएको छ । उहाँहरूको अभिव्यक्ति सुन्नु भयो होला । यो समीकरण ढाल्न लागेपछि हामीले सहमत हुन नसकेपछि विभाजन गर्‍यौं भनिराख्नु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७