राष्ट्रपतिप्रति ओलीको आक्रोश : कसका र कस्ता मान्छेलाई जागिर खुवाएर राख्नु भएको छ ?


२८ बैशाख २०८१, शुक्रबार
kp oli 2

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० को नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले नोटमा नक्सा छाप्ने निर्णयबारे विभिन्न सञ्चार माध्यममा दिएको प्रतिक्रियाप्रति संकेत गर्दै अध्यक्ष ओलीले पार्टीको संसदीय दलको बैठकमै यसबारे प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । ‘नेपालले नोटमा नेपालको नक्सा छाप्छु भन्दा अर्को देश कराएको सुनियो । किन अर्को देश कराएको ? किन करायो होला भन्दै गर्दा त राष्ट्रपतिका विज्ञ सल्लाहकार उत्तेजित भएका रहेछन् । कसका मान्छे र कस्ता मान्छे त्यहाँ जागिर खाएर बसेका छन् ? अध्यक्ष ओलीले भने, ‘नेपालले नेपालको नक्सा छाप्दा अर्को देश रिसाउँछ भन्ने मान्छे राष्ट्रपतिको सल्लाहकार हुन मिल्छ ? सल्लाहकारको यो भनाइ राष्ट्रपतिको हो कि होइन हामी उहाँलाई सोध्न चाहन्छौं ।’

अध्यक्ष ओलीले नेपालको राष्ट «हितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको ओलीले आरोप लगाए । ‘नेपालको यति अहित चिताउने । राष्ट्रिय भावनामा यस्तो विद्वेष भएका व्यक्तिले राष्ट्रपति कार्यालयमा गुँड बनाउने यो के भएको हो ? राष्ट्रपतिले यही भनाइबाट सुन्नुहोस् । यो साधारण कुरा होइन । राष्ट्रपतिका सल्लाहकार राष्ट्रपतिको आवाज हो कि हामी सोध्न चाहन्छौं ।’

राष्ट्रपतिको सल्लाहकारको भनाइलाई एमालेले गम्भीर रूपमा लिएको र जवाफ मागिने पनि ओलीले बताए । ‘राष्ट्रपतिको विज्ञ सल्लाहकार उफ्रिन्छ भने यो तमासा होइन ? त्यस्ता मान्छे राख्न मिल्छ ? यो प्रश्न हामी संसद्मा गम्भीरताका साथ उठाउँछौं । प्रधानमन्त्री जवाफ दिनुहुन्छ कि राष्ट्रपति आफैंले जवाफ दिनुहुन्छ ?,’ ओलीले भने, ‘कि सल्लाहकार जहाँको हो त्यहीँ पठाउनु हुन्छ ? के गर्नु हुन्छ ?’

उनले भने, ‘यस विषयमा हामी दह्रैगरी छिनोफानो खोज्नेछौं । राष्ट्रपति ज्यू के भन्नु हुन्छ ? झुक्किएर राख्नु भएको हो कि फेरि पनि डिफेन्ड गर्नु हुन्छ यो कुराको ? राष्ट्रपतिको त्यो भनाइ हो कि ? राष्ट्रपतिका विज्ञ सल्लाहकार राष्ट्रपतिको आवाज बोल्नका लागि त्यहाँ राखिन्छ यो राष्ट्पतिको आवाज हो कि होइन ?,’ ओलीले सोधेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७