संसद बैठक शुरु गर्न ढिलाइ, परामर्शमा सभामुख

शीर्ष नेतालाई बोल्न र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने कांग्रेसको तयारी


२८ बैशाख २०८१, शुक्रबार
samsad hall

काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन सकेको छैन । आज दिउँसो २ बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपपछि बैठक अझै शुरु हुन सकेको छैन ।

कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबीच नजुट्दा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने सकेको छैन । अहिले सभामुख देवराज घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन कसरी गर्ने भन्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुखले दुई चरणमा प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख घिमिरेसँगको छलफलमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गर्न दिने र आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्न दिने कार्यक्रम तथा नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ ।

सभामुखले सत्ता पक्षका प्रमुख सचेतकहरूसँग पनि छलफल गर्दैछन्। यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । कांग्रेसले आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर अन्य नेताहरूलाई बोल्न नदिने नीति अख्तियार गरेको छ । गृहमन्त्रीको जवाफ सुन्ने र लगत्तै संसदीय छानविन समिति माग गरेर अवरोध गर्ने नीति अख्तियार गर्न लागेको छ । तर सभामुख घिमिरे भने अधिवेशन सुरु भएको दिन भएकाले सबै दलका तर्फबाट एक जनालाई बोल्न दिनुपर्ने पक्षमा छन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले रवि लामिछानेमाथि छानबिनका लागि पर्याप्त प्रमाण भएकाले संसद बैठकमा आफूहरुले प्रमाण पेस गर्न लागेको बताएका छन् । ’अन्य व्यक्तिलाई किन बोल्न दिनुप¥यो, गृहमन्त्रीको सहकारी प्रकरणमा संलग्नताबारे ढाकछोपको प्रयास हुने देखिन्छ’, खतिवडाले भने, ‘हाम्रो माग संसदीय छानबिन समिति हो। ’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि को बोल्ने / नबोल्ने भन्दा पहिला सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागमा सहमति नभए सदन अवरुद्ध हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७