संख्याको आधारमा हेप्न–पेल्न खोजियो, अब संसद चल्न सक्दैन : कांग्रेस


२८ बैशाख २०८१, शुक्रबार
gagan Thapa

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय छानबिन समिति नबने संसद् अघि बढ्न नदिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले संसदीय छानबिन समिति नबने संसद् अघि बढ्न नदिने बताएका हुन् ।

थापाले आफूहरूले उठाएको मुद्दालाई हल्का नठान्न सरकारलाई चेतावनी दिए । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखे । उनले गृहमन्त्रीमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेको बताए ।

उनले भने, ‘सदनमा प्रश्नहरूको घाँटी निमोठ्ने प्रयास हुँदैछ । गृहमन्त्री केही समय अगाडि सदनको बाहिर उभिएर चार वर्ष बन्द भए पनि हुन्छ । बन्द भए होस् मज्जाले चलाउने हो भन्नु भएको थियो । भर्खर भर्खर आउनु भएको हो सबै कुरा थाहा नहुन पनि सक्छ । तर प्रधानमन्त्रीले त सदन कसरी चल्छ चलाउनु पर्छ भन्ने थाहा छँदैछ । तर, हिसाब किताब बिग्रिने डर त सबैलाई हुने नै भयो । त्यसैले आज सदनमा जुन दृश्य बन्दै छ । त्यसको कारक हामी होइन । जे गर्ने सोच राखिएको त्यसको मूल्य चुकाउनु पर्नेछ । यसलाई हल्का नठानियोस्, कांग्रेस सदन चल्नु पर्छ भन्ने पक्षमा छ ।’

उनले संख्याको आधारमा हेपेर–पेलेर सदन चलाउँछु भन्ने नसोच्न चेतावनी दिए । संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै काम कारबाही अगाडि नबढ्ने सुनाए । उनले भने, ‘समिति बनाउन किन डराएको ? किन आत्तिएको ? प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदैछ । सहकारी ठगीका सम्बन्धमा संसदीय समितिमा कांग्रेस मात्रै बस्ने त होइन होला । छानबिन समिति नबनाएसम्म संसद् अगाडि बढ्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७