सिकाइ उपलब्धी ६० प्रतिशत र कोर्स पूरा नभए अब शिक्षकको तलव कट्टी


२८ जेष्ठ २०७५, सोमबार
teacher

रोल्पा, २८ जेठ । शैक्षिक अवस्था सुधारका लागि रोल्पा नगरपालिकाले शिक्षाका सरोकारवालाबीच बृहत् अन्तरक्रिया गरेको छ ।
नगरपालिकाभित्रको शैक्षिक अवस्था सुधार गर्न सबै वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, गणित पढाउने शिक्षकहरूको भेलाले १२ बँुदे साझा प्रतिबद्धतापत्र जारी गरेका छन् ।teacher

रोल्पा नगरपालिका, नगर शिक्षा समिति रोल्पाको आयोजना र सेभ द चिल्ड्रेन तथा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको सहजीकरणमा भएको कार्यक्रममा सिकाइ उपलब्धि सुधारका लागि सबैको भूमिका आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।
नगरपालिकाभित्र रहेका विद्यालयहरूको सिकाइ उपलब्धि कमी भएकाले सिकाइ उपलब्धि सुधारका विषयमा छलफल गर्न नगरपालिकाले कार्यक्रम गरेको हो ।

कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले शिक्षाको सुधार भएमा समाजका सबै विषयहरू सुधार हुने बताए । उनले रोल्पा नगरपालिकालाई शैक्षिक हवको रूपमा विकास गर्ने आफूहरूको प्रतिबद्धतालाई सहयोग गर्नका लागि सबैलाई अनुरोध गरे । प्रमुख केसीले शैक्षिक क्षेत्रको विकास भएमा मात्र अरू क्षेत्रमा विकास हुने बताउँदै जनशक्ति तयार गर्ने शिक्षकहरूको भूमिका महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा नगरपालिकाले जारी गरेको शैक्षिक पात्रोको कार्यान्वयन गर्ने, बालबालिकालाई प्राथमिकतामा राखेर विद्यालयमा नियमित आउने वातावरण सिर्जना गर्ने, सिकाइ उलपब्धिलाई विद्यालयको प्रतिष्ठा मानी विद्यार्थीको सिकाइ उपलब्धिलाई राष्ट्रिय मापदण्डअनुसार वृद्धि गर्नुपर्ने, असल अभ्यासलाई मार्गदर्शन मानेर कार्य गर्ने, आईसीटीको प्रयोग कक्षाकोठामा प्रयोग गर्नेलगायतका बुँदाहरू वडा अध्यक्ष, प्रअ, विद्यालय व्यवस्थापन अध्यक्ष र शिक्षकहरूले प्रतिबद्धता जनाएका छन् । त्यस्तै, शिक्षक पहिलो प्रविधि बन्ने गरी कार्य गर्ने, जानेका सबै शिक्षकहरूमा सिकाउने, बालविकास शिक्षकलाई पूरै विद्यालय समयमा कार्य गर्न लगाउनेलगायतका सुधार गर्नुपर्ने बुँदामा रहेका छन् ।

विद्यालय शिक्षामा सुधार ल्याउनका लागि सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन अध्यक्ष र शिक्षकहरूबीच कार्यसम्पादन सम्झौतासमेत गरिएको छ । पाठ्यक्रम अनुसार कोर्स पूरा गर्ने, कक्षाकोठामा पूरा समय बिताउने, आगामी तीन शैक्षिक सत्रभित्रमा न्यूनतम ६० प्रतिशत सिकाइ उलपब्धि पुर्‍याउने, शिक्षकले सात दिनसम्म प्रअबाट बिदा स्वीकृत गराउने र सोभन्दा बढी बिदा नगरपालिका, गाउँपालिकाबाट स्वीकृत गराउनेलगायतका नौ बँुदे कार्यसम्पादन सम्झौतासमेत गरिएको छ ।
त्यस्तै, तोकिएको समयमा पाठ्यपुस्तकको कोर्ष पूरा नगरेमा प्रधानाध्यापकले स्पष्टिकरणसहित १५ प्रतिशतसम्म तलब कट्टाको कार्यान्वयन गर्ने तथा विद्यालयमा मादक पदार्थ सेवन गरी नआउनेलगायतका विषयमा प्रधानाध्यापक र शिक्षकहरूले वडा कार्यालय, नगरपालिकासँग कार्यक्रम सम्पादन सम्झौता गरेका छन् । कार्यक्रममा निजी ७६ विद्यालयहरूको प्रअ, अध्यक्ष, वडा अध्यक्ष र गणित शिक्षकको भेला भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७